न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना दिएको छ।

अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको करिब आठ दशकको स्मरण गर्दै संविधान दिवसका अवसरमा नेपाली जनतालाई शुभकामना दिएको हो।

विज्ञप्तिमा व्यापार विस्तार, नवप्रवर्तन र लगानीका माध्यमबाट आगामी वर्षहरूमा नेपाल–अमेरिका साझेदारीलाई थप सुदृढ बनाउन अमेरिका तत्पर रहेको उल्लेख गरिएको छ।

हालै भोटेकोशी क्षेत्रमा गएको बाढीपहिरोबाट परिवार र समुदायले व्यहोरेको क्षतिप्रति पनि अमेरिकाले दुःख व्यक्त गरेको छ। घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ।

‘खोज, उद्धार र पुनःस्थापनाका प्रयास जारी रहेका छन्। जीवन गुमाउनेहरूप्रति शोक व्यक्त गर्न अमेरिका नेपालसँगै उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पुनःस्थापनाका प्रयासमा सहयोग गर्न अमेरिका प्रतिबद्ध छ।’