दोहा, कतार ।
कतारस्थित प्रवासी भुजेल समाजको आठौँ महाधिवेशन यही जनवरी ३०, शुक्रबार आयोजना हुने भएको छ।
“भुजेल जातिको विकास र उन्नतिको आधार: सांस्कृतिक चेतना, शिक्षा र रोजगार” भन्ने मूल नाराका साथ समाजले आफ्नो महाधिवेशन गर्न लागेको हो।
सन् २०१० मा स्थापना भएको यस समाजले कतारमा रहेका भुजेल समुदायको हकहित र सांस्कृतिक संरक्षणमा काम गर्दै आएको छ। आगामी महाधिवेशनमा कतारमा कार्यरत सम्पूर्ण भुजेल दाजुभाइ तथा दिदीबहिनीहरूका साथै गैर-भुजेल नेपाली समुदायलाई पनि आतिथ्यता र ऐक्यबद्धताका लागि उपस्थित भइदिन आयोजकले हार्दिक अनुरोध गरेको छ।
यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यकालका लागि भावी योजना र रणनीतिहरू समेत तय गर्ने अपेक्षा गरिएको छ। महाधिवेशन दोहास्थित प्लाजा मलमा रहेको जिम्बु थकाली रेस्टुरेन्टको हलमा बिहान ११ बजेबाट भव्य रूपमा सुरु हुनेछ।











