दमौली तनहुँ ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत तनहुँ प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा बिश्वेश्वर खनालले उम्मेदवारी घोषणा गरेका छन्।

खनालले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै नेपाली कांग्रेसको नीति, विधि र पद्धतिलाई आत्मसात् गर्दै पार्टीभित्र सबैलाई समान अवसर र अस्तित्व कायम गराउन दृढ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आफूलाई संगठन सुदृढीकरण र पार्टीलाई थप गतिशील बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। उम्मेदवारी घोषणासँगै उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग सहयोग र सद्भावका लागि आग्रहसमेत गरेका छन्।

पोस्टरमा खनालले पुस्तान्तरण, रूपान्तरणसहित परिवर्तनलाई संस्थागत गर्दै विजय यात्रामा तपाईँहरूसँग सधैँ सँगै रहनेछु भन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला तनहुँ- १ मा खनालको उम्मेदवारीले क्षेत्रीय सभापति चयनको प्रतिस्पर्धालाई थप चर्चामा ल्याएको छ।