काठमाडौं  ।

भदौ २३–२४ को जेनजी आन्दोलनपछि बनेको सरकार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सभा निर्वाचनको अन्तिम तयारीमा जुटेको छ। आन्दोलनले देशको राजनीति नयाँ मोडमा ल्यायो, सत्ता संरचना फेरियो र जनतामा परिवर्तनप्रतिको अपेक्षा झन् बढ्यो। अहिले देशभित्र चुनावी माहोल तातेको छ भने विदेशमा रहेका लाखौं नेपाली पनि उत्तिकै उत्सुकताका साथ परिस्थितिलाई नियालिरहेका छन्।

तर विडम्बना के भने, देशको अर्थतन्त्रको मेरुदण्ड मानिने प्रवासी नेपालीमध्ये धेरैजसो यसपटक प्रत्यक्ष मतदान गर्न नपाउने अवस्थामा छन्।

 

प्रवासबाट मतदान : चाहना धेरै, व्यवस्था सीमित

पुर्ण बी.के.पहाडी (ओमन)

“जेनजी आन्दोलनपछि बनेको सरकारले छिटो निर्वाचन घोषणा गर्नु सकारात्मक कदम हो। तर प्रवासमा रहेका श्रमिकको भावना अझै राज्यले समेट्न सकेको छैन। केही समयअघि बंगलादेशले आफ्ना प्रवासी मजदुरका लागि हुलाक मार्फत मतदानको व्यवस्था गरेर उदाहरण प्रस्तुत गर्‍यो। हाम्रो देशमा भने यति ठूलो जनसंख्या विदेशमा हुँदाहुँदै पनि स्पष्ट नीति बनेको छैन। यसपटक सीमित मात्रामा साथीहरू नेपाल जानेछन्। अब बन्ने सरकारले प्रवासी मताधिकारलाई प्राथमिक एजेन्डा बनाउनुपर्छ। उहाँको भनाइमा आशा पनि छ नयाँ सरकारलाई कम्तीमा ६ महिना काम गर्ने अवसर दिनुपर्छ, तर परिणाम देखिनैपर्छ।

रबिन मगर (कतार)

भदौ २३–२४ को आन्दोलनले देशलाई नयाँ मोडमा ल्यायो। फागुन २१ को चुनाव सामान्य प्रक्रिया होइन, भविष्य निर्धारण गर्ने अवसर हो। उहाँ थप्नुहुन्छ,हाल अमेरिका ईरान तनावका कारण मध्यपूर्वका केही देशमा एयरस्पेस अवरुद्ध हुँदा उडानहरू प्रभावित भए। कतारबाट नेपाल जान चाहने धेरै नेपाली रोकिए। भौतिक रूपमा उपस्थित हुन नसके पनि हाम्रो चेतना र जिम्मेवारी कम हुँदैन। व्यक्तिभन्दा विचार, योजना र कार्यक्षमताको आधारमा मत दिनुपर्छ।

केदार शर्मा (कतार)

गल्फ क्षेत्रको असहज परिस्थितिका कारण मतदानका लागि जान सकिएन। अब बन्ने सरकारले भूराजनीतिक यथार्थ बुझ्ने, अनुभवी र दूरदर्शी नेतृत्व दिनुपर्छ। केवल नाराले देश चल्दैन।

केदार भुसाल ( कतार)

धेरै साथीहरू समय, खर्च र कामको चुनौती हुँदाहुँदै पनि मतदान गर्न नेपाल जाने तयारीमा हुनुहुन्थ्याे। यो चुनाव सरकार परिवर्तन मात्र होइन, प्रणाली सुधारको परीक्षा हो। यदि नयाँ सरकारले सुशासन र पारदर्शिताको अनुभूति दिन सकेन भने आन्दोलनको भावना अधुरै रहनेछ।

नवराज सिंखडा ‘जिज्ञासु’ (कतार)

जेनजी आन्दोलनपछि संविधानको दायराभित्र देशलाई स्थिर मार्गमा ल्याउने प्रयास भइरहेको छ। तर गाउँ रित्तिँदै गएका छन्, युवाशक्ति विदेशमै सीमित छ। मतदान अधिकार मात्र होइन, यो भविष्यप्रतिको जिम्मेवारी हो। सरकार फेरिनु परिवर्तन होइन, शासनशैली फेरिनु नै वास्तविक परिवर्तन हो।

अब्दुल करिम (कतार)

आन्दोलनले राजनीतिक दिशा परिवर्तन गर्‍यो। धेरै प्रवासी साथीहरू परिवर्तनको पक्षमा मत दिन नेपाल जानुभएकाे छ। तर अब जनता भावनात्मक भाषण होइन, कामको मूल्यांकन गर्न तयार छन्। नयाँ सरकारले स्थिरता, विकास र भ्रष्टाचार नियन्त्रणमा देखिने परिणाम दिनुपर्छ।

नियम भुजेल (कतार)

उडान अवरुद्ध हुँदा चाहेर पनि नेपाल आउन सकिएन। नयाँ सरकार बनेपछि स्वतः विकास हुने होइन। नेतृत्व पारदर्शी, दृढ र जिम्मेवार भयो भने मात्रै सकारात्मक परिवर्तन सम्भव छ। विकास सरकार र जनताको साझा प्रयासबाट मात्रै सम्भव हुन्छ।

नीर बहादुर रानाभाट ( युएई आबुधाबी)

युएईमा रहेका नेपालीबीच चुनावको चर्चा तीव्र छ। सामाजिक सञ्जालमार्फत उम्मेदवारहरूको मूल्यांकन भइरहेको छ। वैदेशिक रोजगारी, श्रमिक सुरक्षा र दूतावास सेवा सुधार हाम्रो प्रमुख अपेक्षा हो। प्रवासी मताधिकार सुनिश्चित नगरी लोकतन्त्र पूर्ण हुँदैन।

रामजी कुवर (युएई)

हामी केवल रेमिट्यान्स पठाउने मेसिन होइनौं। नीति निर्माणमा हाम्रो आवाज पनि सुन्नुपर्छ। नयाँ नेतृत्वले प्रवासी नेपालीको योगदानलाई संस्थागत रूपमा सम्मान गर्नुपर्छ।

सुरज पोखरेल (आबुधाबी)

दुबईमा रहेका युवाहरू अब नारा होइन, कार्यान्वयन योग्य योजना खोजिरहेका छन्। रोजगार, प्रविधि, शिक्षा र उद्यमशीलतामा स्पष्ट दृष्टिकोण ल्याउन सक्ने नेतृत्व आवश्यक छ।

अमन चौधरी (मलेसिया)

मलेसियामा रहेका धेरै श्रमिक आर्थिक कारणले नेपाल जान सकिएन। तर मन देशमै छ। प्रवासी नेपालीलाई मतदानको वैकल्पिक व्यवस्था उपलब्ध गराउनु अबको आवश्यकता हो।

राजन लौडारी, (यूएई अबुधाबी)

म हाल मध्यपूर्वको अबुधाबीमा कार्यरत छु। राजनीति प्रति चासो नभएको होइन, तर अहिलेको परिस्थितिमा “हाम्रो मान्छे” भन्दा “राम्रोलाई” छान्ने समय आएको जस्तो लाग्छ।

म स्वयं मतदानमा उपस्थित हुन नसके पनि परिवारलाई कुन आधारमा र कसलाई भोट हाल्ने भन्नेबारे स्पष्ट रूपमा सम्झाएको छु। व्यक्तिको नजिकियताभन्दा उसको विचार, कार्ययोजना र देशप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो धारणा छ।

हामी प्रवासमा भए पनि देशप्रतिको कर्तव्य र चिन्ता कम हुँदैन। सही निर्णयले मात्रै देशलाई सही दिशातर्फ अघि बढाउन सक्छ।

आशा कि परिणाम ?

फागुन २१ केवल मतदानको दिन होइन—यो जिम्मेवारी, आत्ममूल्यांकन र भविष्य चयनको दिन हो। प्रवासमा रहेका नेपालीहरूको मन देशमै छ। उहाँहरू रेमिट्यान्समार्फत मात्र होइन, विचार, चेतना र लोकतान्त्रिक प्रतिबद्धतामार्फत पनि राष्ट्र निर्माणमा सहभागी हुन चाहनुहुन्छ।अबको प्रश्न स्पष्ट छ नयाँ नेतृत्वले आशा मात्र जगाउने कि ठोस परिणाम पनि देखाउनेरु निर्णय हाम्रो भोटले गर्नेछ। र भविष्य हाम्रो चेतनाले निर्धारण गर्नेछ।