भानु  तनहुँ ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत तनहुँको भानु नगरपालिकाका १३ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सबै वडामा नयाँ वडा सभापतिसहितको नेतृत्व चयन गरेसँगै भानुमा कांग्रेसको वडा तहको संगठनले नयाँ नेतृत्व पाएको छ।

पार्टीको संगठनलाई थप सुदृढ, व्यवस्थित र चलायमान बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनबाट भानु-१ मा अर्जुनकुमार श्रेष्ठ, भानु- २ मा मदन क्षेत्री र भानु-३ मा टेकबहादुर लामा वडा सभापतिमा निर्वाचित भएका छन्।

त्यस्तै, भानु-४ मा महेश आचार्य, भानु-५ मा प्रेमबहादुर अधिकारी, भानु-६ मा प्रकाश वाग्ले र भानु-७ मा कृष्णकुमार श्रेष्ठ वडा सभापतिमा निर्वाचित भएका छन्।

यसैगरी भानु-८ मा इश्वर बहादुर घिमिरे, भानु-९ मा धिरेन्द्र पाण्डे, भानु-१० मा सन्तोष सापकोटा, भानु-११ मा राजेश अधिकारी, भानु-१२ मा कृष्ण ठकुरी र भानु-१३ मा हरि खड्का वडा सभापतिमा निर्विराेध निर्वाचित भएका हुन् ।

भानु नगरपालिाकाे १३ वटै वडामा नयाँ नेतृत्व चयन भएपछि भानु नगरपालिकामा कांग्रेसको वडा तहको संगठनात्मक संरचना नयाँ नेतृत्वसहित अघि बढेको छ।

स्थानीय तहमा पार्टीको संगठन विस्तार, कार्यकर्ताबीचको समन्वय र आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने आधारका रूपमा वडा अधिवेशनलाई हेरिएको छ।

अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले वडा तहमा पार्टीका गतिविधिलाई सक्रिय बनाउँदै कार्यकर्तालाई थप संगठित गर्ने, संगठनलाई व्यवस्थित बनाउने तथा स्थानीयस्तरमा कांग्रेसको उपस्थितिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

भानुका सबै वडामा नेतृत्व चयन भएसँगै अब वडा तहदेखि नगर तहसम्म पार्टीको संगठनात्मक गतिविधिले थप गति लिने कांग्रेसका स्थानीय नेताहरूको विश्वास छ।

नयाँ नेतृत्वले कार्यकर्ताको भावना र स्थानीय आवश्यकतालाई समेट्दै पार्टी संगठनलाई अघि बढाउने चुनौती र जिम्मेवारीसमेत पाएको छ।