काठमाडौं । मध्यपूर्वका खाडी मुलुकमा करिब २९ वर्ष बिताएका चानक पोखरेलले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

मञ्चको आगामी ४ र ५ गते आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाई लक्षित गर्दै वर्तमान सचिव तथा संगठन विभाग प्रमुख पोखरेलले अध्यक्ष पदमा उम्मेदवारीको दाबी अघि सारेका हुन्। उनले प्रवासमा रहेका नेपाली श्रमिकका अधिकार, संगठनको सुदृढीकरण र वंशजको नागरिकताको सवाललाई आफ्नो नेतृत्वका प्रमुख प्राथमिकताका रूपमा सार्वजनिक गरेका छन्।

झन्डै तीन दशक खाडी क्षेत्रमा बिताएका पोखरेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, चुनौती र सम्भावनालाई नजिकबाट अनुभव गरेको बताएका छन्। विदेशमा श्रम गर्ने नेपालीले भोग्दै आएका श्रम शोषण, असुरक्षा, कानुनी जटिलता तथा विभिन्न प्रकारका अन्यायलाई संगठनको प्राथमिक कार्यसूची बनाउनुपर्ने उनको भनाइ छ।

उनका अनुसार श्रमिकका समस्या व्यक्तिगत गुनासोमा मात्र सीमित हुनुहुँदैन। संगठनले ती समस्यालाई संस्थागत रूपमा उठाउँदै सम्बन्धित सरकारी निकाय, कूटनीतिक नियोग तथा सरोकारवाला पक्षसँग समन्वय गरेर समाधानका लागि पहल गर्नुपर्छ।

पोखरेलले आफ्नो दोस्रो प्राथमिकतामा मध्यपूर्वमा रहेका नेपालीको साझा सरोकार र नेकपा एमालेको विचार तथा संगठनलाई थप व्यवस्थित बनाउने विषयलाई राखेका छन्। प्रवासी नेपाली मञ्चलाई राजनीतिक आस्थाको संगठनका रूपमा मात्र सीमित नराखी विदेशमा रहेका नेपालीको अधिकार, पहिचान र साझा समस्यामा समेत जिम्मेवार भूमिका निर्वाह गर्ने संस्थाका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ।

त्यस्तै, उनले तेस्रो एजेन्डाका रूपमा वंशजको नागरिकताको निरन्तरता र त्यससँग जोडिएका प्रवासी नेपालीका सरोकारलाई उठाएका छन्। मध्यपूर्वसहित युरोप, अमेरिका, ओसियाना तथा विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको नागरिकता, पहिचान र भावी पुस्ताको अधिकारका विषयलाई अन्तर्राष्ट्रियस्तरमा बहसमा ल्याउने उनको प्रतिबद्धता छ।

मञ्चको सचिव तथा संगठन विभाग प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका पोखरेलले आफ्नो लामो प्रवासी जीवन र संगठनात्मक अनुभवलाई नेतृत्वमा उपयोग गर्ने बताएका छन्। संगठनलाई जनमुखी, उत्तरदायी र परिणाममुखी बनाउँदै प्रवासमा रहेका नेपालीका मुद्दालाई नीतिगत तहसम्म पुर्‍याउनु आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।

अध्यक्ष पदमा दाबी प्रस्तुत गर्दै उनले अधिवेशनमा सहभागी प्रतिनिधि, मञ्चका नेता–कार्यकर्ता तथा नेकपा एमालेप्रति आस्थावान् प्रवासी नेपालीसँग सहयोग र समर्थनको अपिल गरेका छन्।

मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यकालका लागि संगठनको नीति, प्राथमिकता र कार्यदिशा तय गर्नेछ। पोखरेलले अघि सारेका श्रमिक अधिकार, संगठन सुदृढीकरण र वंशजको नागरिकतासम्बन्धी एजेन्डा अधिवेशनको नेतृत्व चयन प्रक्रियामा समेत छलफलका विषय बन्ने अपेक्षा गरिएको छ।