काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा गरेको छ ।

जर्मनीको म्युनिखस्थित एलियान्ज एरेना रङ्गशालामा गएराति भएको खेलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि ७–० गोलको फराकिलो जित निकालेको हो ।

बायर्नको जितमा माइकल ओलिसेले ह्याट्रिक गर्दा ह्यारी केनले दुई गोल गरे । योसँगै बुन्डेसलिगामा १ सय गोल पूरा गर्दै केनले नयाँ कीर्तिमान बनाएका छन् ।

यस्तै, जमाल मुसियाला र वैकल्पिक खेलाडी इस्माएल साइबारीले एक–एक गोल गरेका थिए ।

खेलको १८औँ मिनेटमा मुसियालाले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ह्यारी केनले ३९औँ र ५४औँ मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता दिलाए ।

यस्तै, माइकल ओलिसेले ४३, ७३ र ७६औँ मिनेटमा तथा ७०औँ मिनेटमा साइबारीले गोल गरेका थिए ।