भानु -तनहुँको भानु नगरपालिका–१३ बाँसपानीमा ‘चैत्र दशै पूर्णिमा मेला–२०८२’ भव्य रूपमा आयोजना हुने भएको छ। ऐतिहासिक तथा सांस्कृतिक धरोहरको संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुन लागेको मेलामा खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको आकर्षक संयोजन रहने आयोजकले जनाएको छ।

मेलाको मुख्य आकर्षणका रूपमा सेकेन्ड वाईएसबि कप खुल्ला सेभन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा प्रथम हुने टिमले रु. १,१५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले रु. ६८,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्तालाई जनही रु. ५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

यसैगरी, खुल्ला भलिबल प्रतियोगितामा प्रथम पुरस्कार रु. ४०,००० र द्वितीय पुरस्कार रु. २०,००० तोकिएको छ। छेलो प्रतियोगितातर्फ प्रथम पुरस्कार रु. १०,००० र द्वितीय पुरस्कार रु. ५,००० राखिएको आयोजकले जनाएको छ।
फुटबल प्रतियोगिताका लागि टिम दर्ता शुल्क रु. ७,००० निर्धारण गरिएको छ भने प्रत्येक टिममा ९+३ खेलाडी (१ गोलरक्षक र १ कोच अनिवार्य) रहने व्यवस्था गरिएको छ।

दर्ता अन्तिम मिति चैत १३ र १४ गतेसम्म राखिएको छ। त्यस्तै, भलिबल प्रतियोगिताका लागि दर्ता शुल्क रु. ५,००० तोकिएको छ भने अन्तिम मिति चैत १७ गतेसम्म रहेको छ।
कार्यक्रम चैत १९ र २० गते सञ्चालन हुने छ, जहाँ खेलकुदसँगै विविध सांस्कृतिक कार्यक्रम, स्थानीय कला–संस्कृति झल्काउने प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिनेछन्।

उक्त मेला युवा समाज बाँसपानीको आयोजनामा तथा शुभकामना युवा क्लब, भैरवस्थान युवा क्लब, शान्ति युवा क्लब र सिद्धबाबा युवा क्लबको सह–आयोजनामा सम्पन्न हुन लागेको हो।

स्थानीय स्तरमा खेलकुद, पर्यटन र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस मेलाले युवाहरूमा नयाँ ऊर्जा थप्नुका साथै क्षेत्रको पहिचानलाई थप उजागर गर्ने विश्वास गरिएको छ।