काठमाडौँ — अस्ट्रेलियाको गोल्ड कोस्टमा सम्पन्न अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी नेपाली टोली बुधबार स्वदेश फर्किएको छ।

जनवरी १९ देखि २४ तारिखसम्म गोल्ड कोस्टमा आयोजित प्रतियोगितामा नेपालबाट समृद्धि स्कुल र एन्जल्स हार्ट नेसनल स्कुलका टोलीले सहभागिता जनाएका थिए। समृद्धि स्कुलले यु–१५ तथा एन्जल्स हार्ट नेसनल स्कुलले यु–१६ उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए। दुवै टोली समूह चरणबाटै बाहिरिएका छन्।

अफिसियल सुमन तिमल्सिनाका अनुसार दुवै टोलीले प्रतियोगितामा समान रूपमा ५–५ खेल खेलेका थिए।

समृद्धि स्कुलका खेलाडीहरूमा आरभ प्रजापति, सम्यकसिद्धि तुलाधर, परिवेश आचार्य, रमन आचार्य, प्रदेश तामाङ, मिङमार आकाश गुरुङ र समन महर्जन रहेका थिए।

एन्जल्स हार्ट नेसनल स्कुलका तर्फबाट सम्पूर्ण थापा, अन्जल ढकाल, दिपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षेत्रीले सहभागिता जनाएका थिए।

टोलीलाई एन्जल्स हार्ट नेसनल स्कुलका निर्देशक यमबहादुर छन्त्याल, प्रिन्सिपल टकबहादुर थापा, समृद्धि स्कुलका निर्देशकद्वय दिपेन्द्र उप्रेती र आशुतोष रिमाल, भाइस प्रिन्सिपल विक्रम भारतीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए।