काठमाडौं– भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनअघि पूर्वी नेपालका पहिचानवादी युवा नेता थिए उपार्जुङ चाम्लिङ । जेन-जी आन्दोलनका बेला उनी परिवर्तनको पक्षमा खटे । अहिले उनी सुदन गुरुङको समूह काउन्सिल अफ जेन-जीमा जोडिएका छन् । गुरुङले हरेकजसो राजनीति गतिविधिहरूमा उपार्जुङलाई लिएर हिँडेको देखिन्छ । उपार्जुङ कोशी प्रदेश काउन्सिल अफ जेन-जीका संयोजकसमेत छन् ।

अहिले सबै जेन-जीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिएको चर्चा छ । बालेन्द्र साह, रवि लामिछाने र कुलमान मिलेपछि सबै जेन-जीहरू त्यहीँ गएको भन्ने तर्क भइरहेको छ । तर, उपार्जुङ यो कुरालाई स्वीकार गर्दैनन् । उनी जेन-जीहरूले राजनीति, सैद्धान्तिक सहमति पत्र तयार पारिरहेको बताउँछन् । त्यो राजनीति सहमतिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी र कुन रूपले कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाउँछ, त्यसपछि मात्रै तीनवटा जेन-जी समूह राजनीति दलमा जाने-नजाने निर्णयमा पुग्ने उनी बताउँछन् ।

नेपाल जेन-जी फ्रन्ट, काउन्सिल अफ जेन-जी र जेन-जी मुभमेन्ट अलायन्सले आन्दोलनलाई संस्थागत गर्न आफ्ना मागहरू कार्यान्वयन गराउने सन्दर्भमा रास्वपासँग सहमतिको लागि काम गरिरहेको उनी दाबी गर्छन् । भन्छन्, ‘पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र पनि जेज-नी हुन् । उनी र अन्य जेन-जीलाई एउटै रूपमा व्याख्या गर्न मिल्दैन । जेन-जी भनेको उमेर समूह हो ।’

उपार्जुङ हिटलर र महात्मा गान्धीको उदाहरण दिँदै भन्छन्, ‘जेन-जी पुस्ता कुनै पार्टीमा देख्नुभयो भने त्यसकै आधारमा प्रश्न गर्नु उचित हुँदैन । हामीले राजनीति सहमतिको लागिमस्यौदा तयार गरिरहेका छौँ । त्यसलाई बोक्ने हैसियत रास्वपाले देखाउँछ भने हामी जान्छौँ । अरू साथीहरू पनि जानुहोला । त्यसअघि कुनै सहमतिबिना रास्वपामा जाने कुरा असम्भव छ ।’

उपार्जुङले पुस १४ गते बालेन कुलमान घिसिङको उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी मिल्दा एउटा प्रस्ताव राखेको बताए । त्यस प्रस्ताव अनुसार काम गरिरहेको सुनाउँदै भन्छन्, ‘हिजोमात्रै हामीले बालेन र कुलमानसँग एउटा प्रस्ताव राखेका छौँ । जसरी यहाँहरूले रास्वपासँग सम्झौता गर्नुभयो, त्यसरी नै जेन-जीसँग पनि हुनुपर्छ । हाम्रा पनि केही एजेन्डा छन्, ती एजेन्डा बोक्न सक्ने काँध यहाँहरूसँग छ भनेमात्रै मिल्छौँ भनेका छौँ ।’

सबै नयाँ शक्ति मिलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउँछ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘बहुमत आउँछ भन्ने धेरै युवा मतदाताको विश्लेषण छ । तर, हामीचाहिँ के भन्छौँ भने जेन-जीको विषयमा पार्टीले कस्तो सम्झौता गर्छ, कस्तो धारणा बनाउँछ ? त्यसमै बहुमत आउने-नआउने भर पर्छ।’

चाम्लिङसँग हामीले रवि, बालेन, कुलमान र सुदन गुरूङसहितको सम्झौता आगामी दिनको योजना, देशको राजनीति अवस्थाबारे जेन-जीको धारणा लगायतका विषयमा कुराकानी गरेका छौँ ।

वैकल्पिक शक्ति मिलाउन जेन-जीहरू पनि खटेको देखियो, अबको मिसन के हो यहाँहरूको ?

निर्वाचन चाहिँ प्रगतिशीलको पक्षमा हुनुपर्छ । परिवर्तन चाहनेहरूको पक्षमा हुनुपर्छ । चुनाव परिवर्तन चाहनेको पक्षमा हुने हो । परिवर्तनको चेतना भएकाको पक्षमा पनि हुने हो । यसमा अझै ख्याल गर्न बाँकी छ । हाम्रो मिसन त्यही हुन्छ । चुनाव जित्ने कुरा खासै ठूलो भएन । त्योभन्दा ठूलो मिसन चेतनशीलले जित्न सक्ने, आन्दोलनको रक्षा गर्छु भनेर विश्वास दिलाउनेले जित्ने हुनसक्छ ।