तनहुँ, चैत्र — तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित पृथ्वी राजमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा दुई वटा घरमा क्षति पुगेको छ।
आबुखैरेनीबाट दमौलीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३-००२ख २१६२ नम्बरको ट्रक चालकले बिहान करिब ९:३० बजे सवारी नियन्त्रण गुमाउँदा सडक छेउमा रहेका स्थानीय महेश श्रेष्ठ र सन्तोष श्रेष्ठको घरमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा महेश श्रेष्ठको इट्टा–माटोले बनेको जस्तापाताले छाएको दुईतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने सन्तोष श्रेष्ठको घरमा आंशिक क्षति पुगेको छ।
ट्रक चालक चितवनको राप्ती नगरपालिका–३ बस्ने ३० वर्षीय आशिष थिन र सहचालक मकवानपुरको मनहरी नगरपालिका–९ बस्ने २१ वर्षीय मार्का तामाङ सामान्य घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि डुम्रेस्थित लक्ष्मी सिटी अस्पताल पठाइएको डुम्रे प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक बिजयनाथ यादवले जानकारी दिए।
दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।









