तनहुँ । ऐतिहासिक तथा सांस्कृतिक विरासत बोकेको गाउँ पुलिमराङमा बखान उपन्यासमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। सहिद दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उपन्यासको ऐतिहासिक, राजनीतिक र सामाजिक पक्षमाथि गहन विमर्श गरिएको हो।
२००७ सालको क्रान्तिमा बन्दिपुर कब्जाका क्रममा धर्मध्वज गुरुङले शाहदत प्राप्त गरेको पुलिमराङमा २०१८ सालको क्रान्तिमा थप पाँच जनाले शाहदत प्राप्त गरेका थिए। लालध्वज र धर्मध्वज गुरुङका पिता बखानसिंह गुरुङको जन्मभूमि पनि पुलिमराङ नै हो।
कार्यक्रममा बोल्दै समीक्षक भूपिन खड्काले पुलिमराङको सांस्कृतिक विम्ब बोकेको बखानसिंह गुरुङको जीवनकथामा आधारित ‘बखान’ एक सुन्दर ऐतिहासिक उपन्यास भएको बताए। उपन्यासले बखानसिंहको राजनीतिक चेतना, सामाजिक भूमिका र समाजसुधारको योगदान उजागर गरेको उल्लेख गर्दै उनले भने,
देश चेतनाले चल्छ। बखानसिंह गुरुङ चेतनाका विम्ब हुन्। त्यसैले यो कृति पढिनु आवश्यक छ।
तनहुँको व्यास नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा समीक्षक सबिना भुषालले बखानसिंह गुरुङलाई समाजसुधारका प्रेरक व्यक्तित्वका रूपमा प्रस्तुत गरिन्।
इतिहास बुझ्न ‘बखान’ पढ्नुपर्छ। विद्यार्थीलाई इतिहाससँग जोड्न यो उपन्यास पाठ्यक्रममै समावेश गरिनुपर्छ,उनले भनिन्।
कार्यक्रममा २०१८ सालकी सहिद भारत गुरुङकी नातिनी माया गुरुङले सहिद परिवारको पीडालाई संवेदनशील रूपमा समेटिएको कृति भएकाले ‘बखान’ पठनयोग्य ऐतिहासिक दस्तावेज भएको धारणा राखिन्।
व्यास नगरपालिका–८ का वडाध्यक्ष युवराज गुरुङले पुलिमराङको गहिरो राजनीतिक विरासत रहेको उल्लेख गर्दै भने,यो गाउँका युवाहरूको अटल साहस र प्रतिबद्धताले स्वेच्छाचारी शासकहरू तरङ्गित भएका थिए, जुन कुरा ‘बखान’ उपन्यासमा सशक्त रूपमा प्रतिबिम्बित छ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सांसद कृष्णकुमार श्रेष्ठ रहेका थिए। सो अवसरमा उपन्यासकार वसन्त पराजुलीलाई पुलिमराङका आमा समूहले गुरुङ संस्कृतिअनुसार सम्मान गरेका थिए।
सहिद दिवसको अवसरमा नगरपालिकाले विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा आठौँ व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता समेत आयोजना गरेको थियो।











