तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ मा डेंगु संक्रमण देखिएसँगै आँधीमुल नेपाली कल्याण समाजले नियमित सरसफाइ अभियानलाई थप सक्रिय बनाएको छ।
गाउँपालिका स्वास्थ्य शाखाका अनुसार वडा नं. १ का दुई जनामा डेंगु संक्रमण पुष्टि भएको छ। संक्रमणको जोखिम बढेपछि वडाध्यक्ष प्रेमबहादुर गुरुङले घर, आँगन, सडक तथा सार्वजनिक स्थल सफा राख्न स्थानीयवासीलाई आग्रह गर्नुभएको छ।
यसैबीच आँधीमुल नेपाली कल्याण समाजले डेंगुको जोखिम देखिनुअघि नै विगत दुई महिनादेखि प्रत्येक शनिबार सामूहिक श्रमदानमार्फत सरसफाइ गर्दै आएको जनाएको छ। समाजले सरसफाइलाई एकदिने कार्यक्रम नभई नियमित सामुदायिक जिम्मेवारीका रूपमा अघि बढाएको छ।
असोज ३ गते शनिबार बिहान ७ बजे धारी चौताराबाट सुरु हुने सरसफाइ कार्यक्रममा धारी टोलदेखि आचार्यिनी चौतारो, लम्साल डाँडा, बुढीकुवा–कुबेर डाँडा सडक तथा धारी टोलदेखि लम्साल डाँडासम्मको गोरेटो सफा गरिने भएको छ।
कार्यक्रममा धारी टोल, बसेल डाँडा, लम्साल डाँडा, रातमटे, साझा टोल तथा आँधीमुल मार्ग टोलका बासिन्दालाई सहभागी हुन आह्वान गरिएको छ। सत्रसय फाँटका बासिन्दालाई पनि आफ्नो समय र क्षमताअनुसार सामूहिक सरसफाइमा सहभागी हुन वा आफ्नै घरवरपरको क्षेत्र सफा राख्न आग्रह गरिएको छ।
डेंगु फैलाउने एडिज जातिको लामखुट्टेले सफा पानी जमेको स्थानमा समेत प्रजनन गर्ने भएकाले घर तथा समुदायमा पानी जम्न सक्ने प्लास्टिकका भाँडा, बोतल, टिनका डब्बा, टायर, गमला लगायतका सामग्री हटाउन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन्।
समाजले सरसफाइमा सहभागी हुने स्थानीयवासीका लागि पानी तथा खाजाको व्यवस्था गर्न इच्छुक व्यक्तित्वहरूलाई सहयोग गर्न समेत आग्रह गरेको छ।
समाजको सन्देश छ— “सक्नेहरू सामूहिक सरसफाइमा सहभागी बनौँ, नसक्नेहरूले आफ्नै घर वरपरको क्षेत्र सफा राखौँ। स्वस्थ समुदाय निर्माणमा सबैको योगदान आवश्यक छ।”











