जाग्रेब, क्रोएसिया। क्रोएसियामा रहेका नेपाली समुदायको पहलमा सन् २०२६ मा प्रथम पटक खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। तनहुँ समाज तनहुँ समाज  क्रोएसियाको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी फेब्रुअरी २८ तारिख दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

खेल संयोजक बलराम रानाभाटका अनुसार प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई १ हजार २ सय १२ युरो नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ, जसको नेपाली रुपैयाँमा मूल्य करिब २ लाख ७ हजार २ सय ५२ रुपैयाँ रहेको छ। त्यसैगरी, द्वितीय हुने टोलीले ८ सय ८ युरो नगद पुरस्कार (नेपाली रुपैयाँ करिब १ लाख ३८ हजार १ सय ६८ रुपैयाँ) सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सिटर, उत्कृष्ट स्पाइकर तथा उत्कृष्ट लिबेरोलाई पनि विशेष सम्मान प्रदान गरिने आयोजकले जानकारी दिएको छ। खेल उपसंयोजक सुवास पोखरेलका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले फेब्रुअरी २४ तारिखभित्र नाम दर्ता गरिसक्नुपर्नेछ। नाम दर्ताका लागि १ सय ९९ युरो दर्ता शुल्क निर्धारण गरिएको छ।

उक्त प्रतियोगिता क्रोएसियाको राजधानी जाग्रेबमा आयोजना हुने जनाउँदै आयोजकले यसले क्रोएसियामा रहेका नेपालीबीच आपसी सद्भाव, खेलकुदको विकास र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।