भर्खर आएको चुनावी नतिजा सरसर्ती हेर्दा एउटा सन्देश स्पष्ट देखिन्छ—परिवर्तन। जनताले पुराना अनुहारलाई मात्र होइन, पुरानो शैलीलाई पनि अस्वीकार गर्दै नयाँलाई अवसर दिएका छन्। जनमतले नयाँ नेतृत्वमाथि ठूलो आशा र भरोसा राखेको छ—शीघ्र समृद्धि र सुशासनको अपेक्षासहित।
तर प्रश्न यहाँ उठ्छ—के नयाँ नेतृत्वले समृद्धिको स्पष्ट आधार, मार्गचित्र वा सुशासनको खाका प्रस्तुत गरेको छ? त्यस्तो स्पष्ट दृष्टि अझै देखिएको छैन। यद्यपि जनताले ‘गरेर देखाऊ’ भन्ने निर्देशनात्मक जिम्मेवारी उनीहरूको काँधमा सुम्पिसकेका छन्। अब बन्ने सरकारलाई बहाना बनाउने छुट जनताले दिएका छैनन्।
यस चुनावी परिणामलाई हेर्दा विचारभन्दा लोकप्रियता हावी भएको देखिन्छ। विचार र ‘वाद’को राजनीति गर्ने दल र व्यक्तिलाई जनताले अपेक्षाकृत कम रुचाएको देखिन्छ। योगदानभन्दा नयाँपन र लोकप्रियता निर्णायक बनेको संकेत परिणामले दिएको छ।
तर विश्व इतिहास हेर्दा पपुलिस्ट राजनीतिले सधैं सकारात्मक परिणाम दिएको पाइँदैन। पाकिस्तानका क्रिकेटरबाट नेता बनेका इमरान खान वा युक्रेनका हास्य कलाकारबाट राष्ट्रपति बनेका जेलेन्स्की—दुवैका अनुभव मिश्रित छन्। कामना गरौँ, नेपालमा भने फरक परिणाम देखियोस्।
यसपटकका नतिजाले धेरै स्थापित राजनीतिक विरासतहरू भत्काइदिएका छन्। जित्नेहरूले पनि यति ठूलो सफलताको अपेक्षा गरेका थिएनन् भने हार्नेहरूले पनि यस्तो कमजोर परिणाम आउने अनुमान गरेका थिएनन्। २०१५ यता निरन्तर देखिँदै आएको ‘नयाँ अनुहार खोज्ने’ प्रवृत्ति यसपटक अझ प्रस्ट देखियो।
यस्तो दृष्टि थकान नेपालमा मात्र होइन, अन्य देशहरूमा पनि देखिएको छ। मलेसियामा विकासका अगुवा मानिएका महाथीर मोहम्मदले समेत अन्ततः अप्रत्याशित हार व्यहोरे। जनताले बेला–बेला अनपेक्षित निर्णय गर्छन्—लोकतन्त्रको यही विशेषता हो।
भारतमा पनि यस्तै घटना भएको थियो। अनुभवी नेता हेमावती नन्दन बहुगुना १९८४ को चुनावमा अत्यन्त लोकप्रिय अभिनेता अमिताभ बच्चनसँग पराजित भएका थिए। अमिताभको लोकप्रियता चरममा थियो र उनले भारी मतले जित हासिल गरे। तर पछि राजनीतिमा आफू उपयोगी नभएको महसुस गर्दै उनले संसदबाट राजीनामा दिएर पुनः फिल्म क्षेत्रमा फर्किए।
नेपालमा पनि अहिले केही हदसम्म त्यस्तै अवस्था देखिएको छ। सामाजिक सञ्जालमा चर्चित भएका व्यक्तिहरू—सर्जन, पाइलट, पत्रकार, कलाकार, टिकटक क्रिएटर—राजनीतिमा आएका छन्। जनताले पनि उनीहरूलाई गोप्य मतमार्फत अनुमोदन गरेका छन्।
यसको अर्थ उनीहरू अयोग्य छन् भन्ने होइन। उनीहरू आफ्नो क्षेत्रमा सफल भएरै लोकप्रिय भएका हुन्। तर प्रश्न यो हो—के संसदलाई अहिले लोकप्रियता मात्र चाहिएको हो, कि अनुभव, नीति र दूरदर्शिता पनि?
संसद अवश्य पनि विविध र रंगीन भएको छ। तर समानुपातिक प्रणालीको उद्देश्य—समावेशी र योग्य प्रतिनिधित्व—अझै पनि पूर्ण रूपमा हासिल हुन सकेको छैन।
राजनीति कमाउने ठाउँ होइन। यो सेवा र समर्पणको क्षेत्र हो। जो जुन क्षेत्रमा सफल छन्, त्यहीँबाट समाज र मानवताको सेवा गर्नु पनि उत्तिकै ठूलो योगदान हो। नारायण गोपाल वा नातिकाजी जस्ता कलाकार राजनीतिमा नआए पनि आजसम्म नेपाली समाजले सम्मानपूर्वक सम्झिरहेका छन्।
लोकप्रियता राजनीतिमा प्रयोग हुँदा कहिलेकाहीँ अनुभवी र इमानदार राजनीतिक नेतृत्व अवसरबाट वञ्चित हुने जोखिम पनि हुन्छ। त्यसैले मतदाताले चिन्ह होइन, उम्मेदवारको गुण र क्षमता हेरेर निर्णय गर्नु आवश्यक छ।
हाम्रा आकांक्षा धेरै छन् र हामीलाई परिणाम छिट्टै चाहिएको छ। तर वास्तविकता के हो भने विश्व परिस्थिति जटिल छ। भूराजनीतिक स्वार्थ, छिमेकी राष्ट्रहरूको प्रभाव र विश्व अर्थतन्त्रको उतारचढावले साना देशहरूलाई अझ संवेदनशील बनाउँछ।
हामी गरिब मात्र होइनौं—हामीसँग सम्भावना पनि छ। तर विकासका लागि ऋण लिँदा सावधानी आवश्यक हुन्छ। श्रीलंकाको हम्बन्टोटा बन्दरगाह ९९ वर्षका लागि चीनलाई दिनुपरेको उदाहरण हाम्रो अगाडि छ।
त्यसैले भावनामा बगेर होइन, यथार्थमा उभिएर निर्णय गर्नु आवश्यक छ। पात्र बदलिँदैमा भोलिपल्टै देश समृद्ध हुन्छ भन्ने भ्रम पाल्नु उचित हुँदैन।
हामी जहाँ छौँ, त्यहीँबाट परिवर्तन सुरु गरौँ। कसैलाई देवत्वकरण वा दानवीकरण नगरी आलोचनात्मक चेत कायम राखौँ। नेतृत्वलाई जिम्मेवार बनाउनु नागरिकको कर्तव्य पनि हो।
देश कुनै एक व्यक्तिले बनाउने होइन। सम्पूर्ण नेपालीहरूको सकारात्मक योगदानले मात्र देश बन्छ। त्यसैले हामीले हाम्रो भागको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरौँ। ढुक्क हुनुस्—देश अवश्य बन्छ








