माडी- माडी नगरपालिका अन्तर्गत पर्ने पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको पुनर्गठन सम्पन्न भएको छ। सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
निर्वाचनबाट अध्यक्ष पदमा राजकुमार (राजु) पाठक सर्वसम्मत रूपमा चयन भएका छन्। यस्तै, उपाध्यक्षमा मनबहादुर बिक, सचिवमा खेम लामिछाने तथा कोषाध्यक्षमा शिवप्रसाद पौडेल चयन भएका छन्।
समितिका सदस्यहरूमा बिष्णुदेवी महतो, सबिता बोट, रामअवतार महतो, बिक्रम महतो र कृष्णप्रसाद घिमिरे रहेका छन्। निर्वाचन समितिका अनुसार अध्यक्षसहित सबै पदाधिकारीहरू सहमतिमै चयन भएका हुन्।
निर्वाचन सम्पन्न भएपछि नव-निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष पाठकले स्थानीय स्रोत–साधनको संरक्षण, समुदायको हित प्रवर्द्धन तथा दिगो विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पारदर्शिता, उत्तरदायित्व र समावेशी सहभागितामार्फत समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउने बताएका छन्।
नवनिर्वाचित नौ सदस्यीय कार्यसमितिमध्ये ६ जना नेपाली कम्युनिष्ट पार्टी निकट तथा तीन जना अन्य दल निकट रहेको स्थानीय स्रोतले जनाएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन प्रक्रिया स्थगन गर्न माग गर्दै वक्तव्य जारी गरेको थियो। तर, स्थानीय तहमा सहमति र आवश्यक प्रक्रिया पूरा गर्दै निर्वाचन सम्पन्न गरिएको जनाइएको छ।
स्थानीय तहमा सहमति र प्रतिस्पर्धाको सन्तुलनसहित सम्पन्न भएको यस निर्वाचनलाई माडी क्षेत्रमा संस्थागत अभ्यास सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आगामी दिनमा अन्य उपभोक्ता समितिहरूको निर्वाचन प्रक्रिया पनि अघि बढ्ने वातावरण बनेको स्थानीय स्रोतले जनाएको छ।









