तनहुँ ।
भानु नगरपालिका ३ खहरे बजारस्थित श्री मर्स्याङ्दी आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।
२०८२ साल चैत ६ गते सम्पन्न प्रक्रियामार्फत नवगठित समितिको अध्यक्षमा अमृत कुमार श्रेष्ठ चयन भएका छन्। यसअघि समितिको नेतृत्व सरदराज त्रिपाठीले सम्हाल्दै आएका थिए। उनको कार्यकाल विद्यालय विकासका हिसाबले उपलब्धिमूलक मानिएको छ।
उनको पहलमा जर्मनीस्थित ‘नेपाल हिल्फे’ संस्था र नेपाल सरकारको संयुक्त लगानीमा ८ कोठे पक्की भवन, शौचालय तथा खेलमैदान निर्माण सम्पन्न भएको थियो, जसले विद्यालयको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्याएको छ। नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्ने बताएका छन्। विद्यार्थी संख्या वृद्धि गर्दै विद्यालयलाई भानु नगरपालिकाकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने उनको लक्ष्य रहेको छ।
यसैगरी, शिक्षक अभिभावक संघको अध्यक्षमा बुद्धिमान श्रेष्ठ चयन भएका छन्। नयाँ व्यवस्थापन समितिको गठनसँगै विद्यालयको समग्र विकास, प्रभावकारी व्यवस्थापन तथा शैक्षिक उन्नयनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।












