मेघौली – विश्वकर्मा समुदायको साझा संस्था विश्वकर्मा एकता समाज मेघौलीको अध्यक्षमा दीपक बराली सर्वसम्मत रूपमा चयन भएका छन्। संस्थाको प्रथम साधारण सभा तथा पहिलो अधिवेशनबाट बरालीको संयोजकत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा मेख बहादुर विश्वकर्मा र कौशिला विश्वकर्मा, सचिवमा सन्तोष सिन्चुरी, सह–सचिवमा सन्दिप गदाल र कोषाध्यक्षमा खेम बहादुर सुनार चयन भएका छन्।
सदस्यहरूमा खेम बहादुर विश्वकर्मा, गीता सुनार, बिनिता विश्वकर्मा, बिकास सदाशंकर, मन कुमारी विश्वकर्मा, गंगा विश्वकर्मा र मीना कुमारी बराली रहेका छन्।
अधिवेशनले समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई अझ सुदृढ बनाउँदै सामाजिक, शैक्षिक तथा आर्थिक उत्थानका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको नव–निर्वाचित अध्यक्ष बरालीले बताउनुभयो। उहाँले आगामी दिनमा समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै विभिन्न रचनात्मक गतिविधिहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीयस्तरमा विश्वकर्मा समुदायको संगठित विकास, पहिचान संरक्षण र अवसर सिर्जनामा समाजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। अधिवेशनमा सहभागी वक्ताहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजको हितमा सक्रियतापूर्वक काम गर्न आग्रह गरेका थिए।









