तनहुँ -भानु नगरपालिकाका चार वटा सामुदायिक विद्यालयलाई युनाइटेड वर्ल्ड स्कूल (यूडब्लुएस) ले एक–एक थान स्मार्टबोर्ड प्रदान गरेको छ। यस सहयोगले विद्यालयहरूमा प्रविधिमैत्री शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

स्मार्टबोर्ड प्राप्त गर्ने विद्यालयहरूमा श्री चन्द्रावती माध्यमिक विद्यालय (भानु–७, चुँदी), श्री त्रिभुवन माध्यमिक विद्यालय (भानु–११, मानेचौका), श्री कर्मदा माध्यमिक विद्यालय (भानु–९, पूर्कोट बाइसजङ्गार) र श्री नारायणी आधारभूत विद्यालय (भानु–५, बारीफाँट) रहेका छन्। उक्त सामग्री भानु नगरपालिकाका जनप्रतिनिधिहरूको रोहबरमा सम्बन्धित विद्यालयहरूलाई वितरण गरिएको हो।

युनाइटेड वर्ल्ड स्कूलले यसअघि पनि भानु नगरपालिकाका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाले शिक्षकहरूलाई शिक्षण विधि तथा पेशागत क्षमता विकाससम्बन्धी तालिम प्रदान गर्नुका साथै अभिभावकहरूलाई अभिभावक शिक्षा कार्यक्रममार्फत सचेतना अभिवृद्धि गर्ने प्रयास गरेको जनाएको छ।

त्यसैगरी, विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि रंगरोगन तथा अन्य आवश्यक सामग्री समेत उपलब्ध गराइएको थियो। विशेषगरी श्री नारायणी आधारभूत विद्यालयका लागि ११ कोठे पक्की भवन, आधुनिक सुविधासम्पन्न शौचालय, आवश्यक फर्निचर, भित्तेघडी, फोहोरदानी तथा विभिन्न शैक्षिक सामग्रीको व्यवस्थापन गरी संस्थाले उल्लेखनीय सहयोग गरेको छ।

यस सहयोगका लागि भानु नगरपालिकाले युनाइटेड वर्ल्ड स्कूलप्रति आभार व्यक्त गरेको छ। साथै सम्पूर्ण कार्यक्रमको समन्वय तथा सहजीकरण गर्ने तनहुँ संयोजक सिद्धार्थ योञ्जनलाई विशेष धन्यवाद दिइएको छ।

भानु नगरपालिकाले आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै गुणस्तरीय र प्रविधियुक्त शिक्षा- भानु नगरवासीको अपेक्षा भन्ने अभियानलाई साकार पार्न युनाइटेड वर्ल्ड स्कूल महत्वपूर्ण साझेदारका रूपमा रहने अपेक्षा गरेको छ।