चितवन ।
श्रम संस्कृति पार्टी का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं. ३ बाट उम्मेद्वारी दिएका तोजमान गुरूङ(पारस) यतिबेला तीव्र घरदैलो अभियानमा जुटेका छन्।
उम्मेद्वार गुरूङले श्रमिकको सम्मान, स्वदेशमै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, युवा स्वरोजगार प्रवर्द्धन तथा सुशासनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। घरदैलोका क्रममा उनले भने, श्रम नै समृद्धिको आधार हो। श्रमिकको अधिकार र उत्पादन वृद्धि सुनिश्चित गर्न सके मात्रै देशलाई आर्थिक रूपमा बलियो बनाउन सकिन्छ।
चितवन क्षेत्र नं. ३ अन्तर्गत विभिन्न वडा तथा बस्तीमा पुगेर गुरूङले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा कृषि उत्पादनको उचित बजारीकरण जस्ता विषयमा मतदातासँग छलफल गर्दै समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।
विशेष गरी वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिएका छन्। युवा विदेशिनु बाध्यता होइन, अवसरको अभाव हो। हामी उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर यहीँ रोजगारी सिर्जना गर्छौं,उनले बताएका छन्।
पार्टीका स्थानीय कार्यकर्ताहरूले यसपटक वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको दाबी गर्दै मतदातासँग समर्थन मागिरहेका छन्। पारदर्शी, उत्तरदायी र श्रममैत्री शासन प्रणालीमार्फत क्षेत्रको समग्र विकास गर्ने लक्ष्य रहेको पार्टीले जनाएको छ।
आगामी निर्वाचनमा चितवन क्षेत्र नं. ३ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ। तोजमान गुरूङ(पारस)ले जनताको विश्वास जित्दै नयाँ राजनीतिक संस्कार स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







