दमौली ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले तनहुँको वास्तविक समस्या, आवश्यकता र सम्भावना बुझेको नेतृत्व अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्।
बिहीबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ढकालले पछिल्लो समय राष्ट्रिय राजनीतिमा सैद्धान्तिक बहस धेरै र व्यवहारिक काम कम हुँदै गएको टिप्पणी गरे। जनताले अब भाषण होइन, परिणाम खोजिरहेको उनको भनाइ थियो।
‘सैद्धान्तिक कुराले मात्र तनहुँ बन्दैन,’ ढकालले भने, ‘यहाँको माटो, जनजीवन र विकासका अवरोध बुझ्ने मान्छे नेतृत्वमा पुग्नुपर्छ।’ उनले आफू विकासको स्पष्ट खाका र जनताको सेवाको संकल्पसहित चुनावी मैदानमा उत्रिएको बताए।
ढकालले कृषि, पर्यटन, रोजगारी र आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। जनतासँग प्रत्यक्ष जोडिने योजनामार्फत स्थानीय तहको समन्वयमा दिगो विकास अघि बढाइने उनको भनाइ थियो।
नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने निर्वाचनका लागि ढकाललाई ‘तारा’ चुनाव चिह्नका साथ उम्मेदवार बनाएको छ। पत्रकार भेटघाट कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ता सहभागी थिए।
उम्मेदवार ढकाल यतिबेला घरदैलो अभियान, जनभेटघाट र आन्तरिक छलफलमा व्यस्त छन्।











