तनहुँ ।नेपाली कांग्रेस क्षेत्र नं–१ का उम्मेदवार गोविन्द भट्टराईलाई जन्मथलो व्यास नगरपालिका–११ मा भव्य स्वागत गरिएको छ।

स्थानीयवासी, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूको ठूलो उपस्थितिमा आयोजित भेटघाट कार्यक्रममा भट्टराईलाई फूलमाला, अबिर र नाराबाजीसहित स्वागत गरिएको हो।
कार्यक्रममा उपस्थित नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै भट्टराईले व्यास–११ आफ्नो जन्मथलो भएकाले यहाँको माया, विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको बताए।

उनले क्षेत्र नं–१ को समग्र विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय अगुवा, पार्टी नेताहरू तथा कार्यकर्ताहरूले गोविन्द भट्टराईलाई आगामी निर्वाचनमा विजयी गराउन एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै नेपाली कांग्रेस–१, गोविन्द भट्टराई जिताऔँ भन्ने नारासहित समर्थन व्यक्त गरेका थिए।

कार्यक्रमले क्षेत्र नं–१ मा चुनावी माहोल थप तातिएको संकेत दिएको छ।