तनहुँ

तनहुँ जिल्लामा आयोजित तेस्रो चन्द्रावती कप फुटबल प्रतियोगिताको उपाधि भानु–७ बसन्तपुर सेराटारले जित्दै लगातार च्याम्पियन बन्न सफल भएको छ। फाइनल खेलमा भानु–३ सामाना युवा क्लबलाई पराजित गर्दै बसन्तपुर सेराटारले उपाधि आफ्नो पोल्टामा पारेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको फाइनलमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। निर्धारित समयमा कडा टक्कर देखिए पनि निर्णायक क्षणमा बसन्तपुर सेराटारले अवसरको सदुपयोग गर्दै जित हात पार्‍यो। यससँगै टोलीले अघिल्लो संस्करणको उपाधि समेत जोगाउन सफल भएको छ।

विजेता बसन्तपुर सेराटारले नगद रु. १,११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भानु–३ सामाना युवा क्लबले नगद रु. ५५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

स्थानीय स्तरमा खेलकुद विकास गर्नुका साथै युवाहरूलाई सकारात्मक तथा सिर्जनशील गतिविधिमा जोड्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।