तनहुँ । बन्दीपुर गाउँपालिकाको आयोजनामा चालू आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अन्तर्गत एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ।

आज मिति २०८२/१०/१६ गते सम्पन्न शिविरमा एकै स्थानमा विभिन्न विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने उद्देश्य राखिएको थियो। शिविर सिर्जनाचोक भेट्रान्स क्लब, भरतपुर–चितवनको समन्वयमा तथा कलेज अफ मेडिकल साइन्सेस (CMS), भरतपुरका विशेषज्ञ चिकित्सक र प्राविधिकहरूको सहयोगमा सञ्चालन गरिएको हो।

शिविरको समापन कार्यक्रम बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, बन्दीपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, सिर्जनाचोक भेट्रान्स क्लबका अध्यक्ष, CMS का विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

शिविरमार्फत स्त्री तथा प्रसूति, नशा तथा हाडजोर्नी, यौन तथा छाला, मानसिक रोग, बाल रोग, दन्त रोग, इन्टर्नल मेडिसिन (जनरल फिजिसियन) सेवा प्रदान गरिएको थियो। साथै रेडियोलोजिष्टद्वारा भिडियो एक्स–रे, ईसीजी, ब्लड सुगर परीक्षण तथा औषधि निःशुल्क वितरण गरिएको थियो।

गाउँपालिकाका विभिन्न स्थानबाट सेवाग्राहीको पहुँच सहज बनाउन बन्दीपुर अस्पतालको वार्षिक कार्यक्रम अनुसार निःशुल्क यातायात सेवा समेत उपलब्ध गराइएको थियो।

शिविरमा कुल ३१४ जनाले स्वास्थ्य सेवा लिएका छन्। जसमध्ये २२२ जनाले शिविरमार्फत र ९२ जनाले बन्दीपुर अस्पतालको नियमित सेवामार्फत सेवा लिएका हुन्।