भानु, तनहुँ
आगामी निर्वाचनको तयारीलाई तीव्र पार्दै नेपाली कम्युनिस्ट पार्टी ले तनहुँमा आफ्नो सङ्गठन विस्तार र प्रचार अभियानलाई उचाइमा पुर्याएको छ। यसै सिलसिलामा तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत भानु नगरपालिका वडा नम्बर ३ मा नेकपाको ५१ सदस्यीय विशाल निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ।
स्थानीय कार्यकर्ताहरूको भेलाले बालकृष्ण कार्कीलाई समितिको संयोजक र सह संयोजक मा रमेश कुमार श्रेष्ठ चयन गरेका छन् । कार्कीको नेतृत्वमा बनेको यो समितिले वडाका टोल-टोलमा पुगेर पार्टीको एजेन्डा र उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्ने जिम्मेवारी पाएको छ।
यसैबीच, तनहुँ क्षेत्र नम्बर १ को चुनावी मैदानमा नेकपाको तर्फबाट विद्यानाथ ढकालले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ। ढकाल ‘तारा’ चिह्न लिएर चुनावी प्रतिस्पर्धामा होमिनुभएको हो।
उम्मेदवारी दर्तापछि बोल्दै ढकालले क्षेत्रको विकास, सुशासन र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ। ‘तारा’ चिह्न लिएर चुनावी मैदानमा उत्रिएका ढकाललाई जिताउन वडास्तरबाटै प्रचार टोलीहरू सक्रिय हुन थालेका छन्।
भानु-३ मा गठित ५१ सदस्यीय समितिले अबका दिनमा घरदैलो कार्यक्रम, कोणसभा र मतदाता शिक्षा अभियान सञ्चालन गर्ने योजना बनाएको संयोजक कार्कीले जानकारी दिनुभयो।











