दैलेख। लगातारको अविरल वर्षाका कारण दैलेखको नारायण नगरपालिका–१ स्थित नमुना बस्तीका बादी समुदाय पहिरोको उच्च जोखिममा परेको छन् । आइतवार र सोमवार परेको झरीका कारण गएराति बस्तीमा पहिरो जान थाले पछि आठ घर परिवारका ३७ जना सर्व साधारण विस्थापित भएका छन् ।
पहिरोको जोखिम बढे लगत्तै जिल्ला प्रहरी कार्यालय दैलेख बाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमाण्डमा खटिएको टोलीले स्थानीय जन प्रतिनिधि सँग समन्वय गरी पीडितहरू लाई उद्धार गरेको छ । विस्थापित ३७ जना लाई सोही वडामा रहेको तरकारी सङ्कलन केन्द्रमा रहेको भवनमा आठ वटा कोठामा अस्थायी रूपमा राखिएको छ ।
भीरालो धरातलमा रहेको ६५ घरधुरीको यो बादी बस्तीमा एउटा घर पुरिँदा सिङ्गो बस्ती नै जोखिममा पर्ने अवस्था छ । यस अघि पनि पहिरोमा परी रूपा बादी, उहाँकी छोरी सपना र छोरा विष्णुको मृत्यु भइ सकेकाले स्थानीय वासी त्रासमा छन् । विस्थापित कमला बादीले पटक–पटक कारागार, भेटेरिनरी र तरकारी सङ्कलन केन्द्रमा आश्रय लिनुपर्ने बाध्यता रहेको भन्दै स्थायी स्थानान्तरण नभए सम्म पुरानो बस्तीमा नफर्किने बताउनुभयो ।

नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देश श्रेष्ठले बस्तीको प्रत्यक्ष अनुगमन गरी प्रभावितहरू सँग छलफल गरिएको जानकारी दिनुभयो। हामीले नमुना बस्तीमा पुगेर वस्तु स्थिति हेरेका छौँ र नगर प्रमुख सहित बस्तीका अगुवाहरू सँग छलफल गरेका छौँ, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, तत्कालको झरीको अवस्थालाई हेरेर दीर्घकालीन व्यवस्था गर्ने कुरा भएको छ । पानी पर्न बित्तिकै यो वर्षौँ देखिको पहिरोको जोखिम अन्त्य हुने गरी बादी समुदाय लाई अन्यत्रै स्थानान्तरण गर्ने कुरा भएको छ । उहाँहरूको भूमि आयोग बाट निसा भइसकेकाले त्यस लाई छिट्टै प्रक्रियामा लगेर स्थायी व्यवस्थापन गरिनेछ ।
यस ैगरी दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द शारुले स्थानीय तहले छिटो र छरितो रूपमा काम अघि बढाए जग्गा खोजी गरी सुकुम्बासी बादी समुदायको स्थायी व्यवस्थापन गर्न प्रशासन तयार रहेको बताउनुभयो । सुकुम्बासी हुन् भने नगरपालिकाले छिटो काम अगाडि बढाउनुपर्छ, हामी जग्गा खोज्छौँ, प्रजिअ शारुले भन्नुभयो, बादी समुदायले पनि हामी लाई रोजेकै ठाउँ चाहिन्छ भन्नु राज्यको नीति सँग मिल्दैन । मैले दैलेखका सबै ठाउँमा अनुगमन गरिसकेको छु, स्थानीय निकायले गर्नुपर्ने काम ढिलो भएकोे छ । त्यसैले लालपुर्जा वितरणका लागि स्थानीय निकायले जग्गा व्यवस्थापनको पहल भूमि आयोगमा तुरुन्तै गर्नुपर्छ ।…नवीन रिजाल








