घोराही, दाङ — घोराही उपमहानगरपालिका–१२ अन्तर्गत तल्लो बसन्तपुर टोलमा लामो समयदेखि रहेको पिउनेपानीको चरम अभाव अन्ततः समाधान भएको छ।
घोराही बनाऔं अभियान को सहजीकरण र स्थानीय बासिन्दाको सक्रिय सहभागितामा टोल अहिले स्वच्छ पिउनेपानीको पहुँचमा पुगेको हो। केही महिनाअघि सम्म एक गाग्री पानीका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता भोग्दै आएका यहाँका बासिन्दाहरू अहिले भने नियमित रूपमा घरघरमा पानी पाउँदा राहत महसुस गरिरहेका छन्।
अभियानको पहलमा तल्लो बसन्तपुरमा नयाँ खानेपानी उपभोक्ता समिति गठन गरी स्थानीयलाई संगठित बनाइएपछि समस्या समाधानतर्फ ठोस कदम चालिएको थियो। नन्दराम वलीको नेतृत्वमा गठन गरिएको तल्लो बसन्तपुर खानेपानी संरक्षण उपभोक्ता समिति ले नयाँ स्रोतबाट गाउँमा पानी ल्याउने व्यवस्था मिलाएको हो।
समितिले प्रत्येक घरधुरीबाट १५ हजार रुपैयाँका दरले रकम संकलन गरेको थियो भने स्थानीय दाताहरू तथा खानेपानी तथा सरसफाइ कार्यालयबाट पाइप सहयोग समेत जुटाइएको थियो। अभियानका संयोजक सविन प्रियासनले विभिन्न निकायमा पहल गर्दै आवश्यक समन्वय गरेका थिए।
हाल गाउँमा बिहान साढे एक घण्टा र साँझ साढे एक घण्टा नियमित रूपमा धारामा पानी आउने व्यवस्था गरिएको छ, जसबाट ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। तल्लो बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष रशेम योगी तथा स्थानीय बासिन्दा गोबरर्धन योगीका अनुसार अभियानको सुझावअनुसार समुदाय एकजुट भएर अघि बढ्दा वर्षौंदेखिको समस्या समाधान सम्भव भएको हो।
यसैबीच शुक्रबार अभियानको टोली संयोजक प्रियासनको नेतृत्वमा टोलमै पुगेर पानी आपूर्तिको थप सुधार तथा अन्य स्थानीय समस्याबारे बासिन्दासँग छलफल गरेको थियो। टोलीको गाउँमा स्थानीयले भव्य स्वागत गरेका थिए।
स्थानीय पहल, समुदायको एकता र अभियानको समन्वयले तल्लो बसन्तपुरको पानी समस्या समाधान हुनु अन्य क्षेत्रका लागि पनि उदाहरणीय बनेको छ।









