तनहुँ ।
आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै गर्दा तनहुँ क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ। यसैबीच क्षेत्र नं. १ की एक उम्मेदवारले आफूलाई तपाईंहरूकै छोरीका रूपमा प्रस्तुत गर्दै मतदातासमक्ष भावनात्मक अपिलसहित विकासमुखी एजेन्डा सार्वजनिक गर्नुभएको छ।

भानु नगरपालिका–८ देउरालीटारमा जन्मिएर हुर्किएको उल्लेख गर्दै उहाँले आफ्नो जीवनको यात्रा तनहुँकै माटोसँग जोडिएको बताउनुभएको छ। विद्यार्थी राजनीति हुँदै पार्टी संगठन निर्माणका विभिन्न जिम्मेवारी सम्हाल्दै गाउँ–गाउँ पुगेको अनुभव सुनाउँदै उहाँले तनहुँका १० वटै पालिकाका हरेक वडा र बस्तीमा पुगेर जनताका समस्या नजिकबाट बुझेको दाबी गर्नुभएको छ।

उम्मेदवारले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई औपचारिक कागज नभई जनताप्रतिको उत्तरदायित्व र दीर्घ अनुभवको सार्वजनिक प्रतिज्ञा भएको उल्लेख गर्नुभएको छ। निर्वाचित भएमा संघीय संसदमा सशक्त आवाजका रूपमा उभिएर कानुन निर्माण, नीति सुधार र न्यायोचित बजेट विनियोजनमार्फत तनहुँ–१ का पाँचै पालिकालाई विकास र सेवा प्रवाहको उत्कृष्ट नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले पालिकागत स्पष्ट दृष्टिकोणसमेत अघि सार्नुभएको छ। व्यास नगरपालिकालाई आधुनिक तथा प्रविधिमैत्री सेवा केन्द्र, भानु नगरपालिकालाई कृषि उत्पादन तथा साहित्यिक केन्द्र, आबुखैरेनि गाउँपालिकालाई व्यापार तथा लगानीको प्रवेशद्वार, देवघाट गाउँपालिकालाई आस्था र आध्यात्मिक पर्यटनको नमुना केन्द्र तथा बन्दिपुर गाउँपालिकालाई दीगो पर्यटन अर्थतन्त्रको सशक्त मोडेलका रूपमा विकास गर्ने योजना रहेको उहाँको भनाइ छ।

घरदैलो अभियानअन्तर्गत ४२ वटै वडाका प्रत्येक घरमा पुग्ने लक्ष्यसहित अभियान सञ्चालन भइरहेको जनाउँदै उहाँले केन्द्रदेखि टोल कमिटीसम्मका नेता–कार्यकर्ता मतदाताको घरदैलोमा सक्रिय रहेको बताउनुभएको छ। सबै घरमा व्यक्तिगत रूपमा पुग्न नसकेको भए पनि सधैं जनताकै साथमा रहने प्रतिबद्धता उहाँले दोहोर्याउनुभएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन उहाँले मतदातासँग आग्रह गर्नुभएको छ। उहाँका अनुसार यो विजय व्यक्ति विशेषको नभई तनहुँ क्षेत्र नं. १ को समग्र समृद्धिको विजय हुनेछ।