रामेछाप । 
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि सामाग्री र कर्मचारी बोकेर जाँदै गरेको गाडी दुर्घटनामा पर्दा एक जना प्रहरीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

रामेछाप नगरपालिका–२, देउरालीस्थित वडा कार्यालय नजिकै स्वमिडाँडामा उकालो मोडमा मोड्ने क्रममा नम्बर खुल्न नसकेको महेन्द्र निसान गाडी पल्टिएको हो। प्रारम्भिक अनुमान अनुसार गाडीको ब्रेक फेल भएका कारण दुर्घटना भएको आशंका गरिएको छ।

वडा नं. २ का अध्यक्ष निरकुमार श्रेष्ठका अनुसार दुर्घटनामा एक जना प्रहरीको घटनास्थलमै मृत्यु भएको हो। घाइते ७ जनाको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल पठाइएको छ। तीमध्ये चार जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था सामान्य रहेको उनले बताए।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

दुर्घटनामा परेको गाडीमा रहेका निर्वाचन सामाग्रीमध्ये केही सामग्री प्रयोगयोग्य अवस्थामा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।