दमौली – नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपानेको घरदैलो अभियानमा महिला सहभागिता उल्लेख्य देखिएको छ। बुधबार दमौली बजार क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय महिलाहरू उत्साहका साथ सहभागी भएका थिए।
घरदैलोका क्रममा महिला मतदाताहरूले उम्मेदवार न्यौपानेलाई स्वागत गर्दै शुभकामना तथा समर्थन व्यक्त गरेका थिए। कतिपय महिलाहरूले अंकमाल गर्दै “इतिहास बदल्ने बेला आयो” भन्ने प्रतिक्रिया दिएका थिए।
यस क्षेत्रमा महिला उम्मेदवारको सहभागिताले विशेषगरी महिला मतदातामा नयाँ ऊर्जा थपिएको स्थानीयहरूको भनाइ छ। लामो समयदेखि महिला हक–अधिकारका विषयमा सक्रिय रहँदै आएकी न्यौपानेले आफूले सदैव महिलाको आवाज बुलन्द गर्दै आएको बताएकी छन्।
कार्यक्रमका क्रममा उनले विकास निर्माण, सुशासन र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। “महिलाको सहभागिता बिना समृद्ध समाज सम्भव छैन,” उनले भनिन्।
घरदैलो अभियानका क्रममा उल्लेख्य संख्यामा महिला सहभागिता देखिनु आगामी निर्वाचनमा अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ। स्थानीय महिलाहरूले यसपटक सक्षम महिला नेतृत्वलाई अघि बढाउने दृढता व्यक्त गरेका छन्।







