भानु, तनहुँ — भानु नगरपालिका वडा नं. ३ मा निर्माणाधीन स्वास्थ्य चौकी भवनबारे सामाजिक सञ्जाल तथा जनमानसमा विभिन्न टिप्पणीहरू आइरहेका बेला जनप्रतिनिधिहरूले वास्तविकता सार्वजनिक गरेका छन्।
विकास निर्माणलाई ‘एकल प्रयास’को रूपमा प्रस्तुत गर्नु उपयुक्त नभई यो परियोजना विभिन्न कालखण्डका जनप्रतिनिधि, जग्गादाता र सरकारी निकायहरूको सामूहिक योगदानबाट सम्भव भएको उनीहरूको भनाइ छ।
जग्गादानबाट सुरु भएको पहल
स्वास्थ्य चौकी निर्माणको आधार २०७४ सालमै तयार भएको थियो। तत्कालीन वडा अध्यक्ष दल नारायण श्रेष्ठको कार्यकालमा स्थानीय दाताहरू बालकृष्ण कार्की, ज्ञानबहादुर गुरुङ, रन कुमारी गुरुङ, जग कुमारी श्रेष्ठ र सुनकौरी गुरुङले संयुक्त रूपमा ५ रोपनी जग्गा दान गरेका थिए। त्यतिबेला बजेट अभावका कारण निर्माण कार्य अघि बढ्न नसके पनि सोही जग्गादान नै अहिलेको परियोजनाको मुख्य आधार बनेको बताइएको छ।
बजेट विनियोजन र समन्वय
हालका वडा अध्यक्ष तुल कुमार गुरुङको नेतृत्व तथा नगर प्रमुख आनन्द राज त्रिपाठी को पहलमा संघीय र प्रदेश सरकारसँग निरन्तर समन्वय गरिएको जनाइएको छ।
आ.व. ०८०/८१ मा जिल्ला समन्वय समितिबाट ३० लाख र संघीय सरकारबाट २० लाख गरी कुल ५० लाख रुपैयाँको लागतमा ठेक्का प्रक्रिया मार्फत निर्माण सुरु भयो।
संघीय सरकारबाट पुनः १८ लाख रुपैयाँ प्राप्त भएपछि घेराबार (कम्पाउन्ड) निर्माण सम्पन्न गरिएको छ।
आ.व. ०८१/८२ मा संघीय सहरी विकास मन्त्रालय बाट १ करोड रुपैयाँ विनियोजन भई गण्डकी प्रदेश सहरी विकास तथा भवन कार्यालय मार्फत भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
‘सामूहिक प्रयासको सम्मान गरौं’
स्वास्थ्य चौकी निर्माणका लागि रामचन्द्र पौडेल लगायत विभिन्न पूर्व मन्त्री, मन्त्रालयका सचिव र राजनीतिक व्यक्तित्वहरूसँग पटक–पटक डेलिगेसन गरी पहल गरिएको जनाइएको छ।
वडा सदस्य अमित लामा ले यो परियोजनालाई एकल सफलताको रूपमा प्रस्तुत गर्नु भ्रमपूर्ण हुने बताउँदै मुख्य धन्यवादको पात्र जग्गादाताहरू नै भएको उल्लेख गरेका छन्।
“मुख्य धन्यवादका पात्र ती जग्गादाता हुन्, जसले निःस्वार्थ रूपमा जग्गा उपलब्ध गराउनुभयो,” उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्। साथै, बाँकी भौतिक संरचना तथा फर्निचर व्यवस्थापनको काम नगरपालिकाले गर्ने प्रतिबद्धता नगर प्रमुखबाट आइसकेको समेत जानकारी गराइएको छ।
जनप्रतिनिधिहरूले विकासका विषयमा अनावश्यक राजनीति नगरी सहकार्य र सहमतिमार्फत समाज निर्माणमा जुट्न सबैलाई आग्रह गरेका छन्।







