पाल्पा ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका नारायणप्रसाद आचार्य अनुभवी, परिणाममुखी र जनताले विश्वास गरिसकेको नेतृत्वका रूपमा चुनावी मैदानमा अग्रस्थानमा देखिएका छन्।

स्थानीय तहदेखि संघीय संसदसम्मको सफल राजनीतिक यात्राले आचार्यलाई पाल्पा–१ का मतदातामाझ अलग पहिचान दिलाएको छ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरप्रमुख (मेयर) पदमा निर्वाचित भएका आचार्यले आफ्नो कार्यकालमा विकास, सुशासन र जनमुखी सेवामा उल्लेखनीय योगदान दिएका थिए। मेयरका रूपमा उनले सडक पूर्वाधार विस्तार, खानेपानी आयोजना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच वृद्धि, नगर सरसफाइ तथा संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै काम गरेका थिए।

सीमित स्रोतसाधनबीच पनि परिणाम देखिने काम गर्न सक्ने नेतृत्वका रूपमा उनी जनतामाझ लोकप्रिय बने। स्थानीय तहमा सफल नेतृत्व प्रदान गरेपछि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समेत विजयी हुँदै आचार्य संघीय संसदमा पाल्पाको प्रतिनिधित्व गर्न पुगे।

प्रतिनिधिसभा सदस्यका रूपमा उनले पाल्पाको विकास, रोजगारी सिर्जना, कृषि र पर्यटन प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुशासनका विषयलाई निरन्तर उठाउँदै आएका छन्। संसदमा स्पष्ट, तथ्यपरक र जिम्मेवार भूमिकाका कारण उनी सक्रिय सांसदका रूपमा चिनिन थालेका छन्।

हाल पुनः प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा मैदानमा उत्रिएका आचार्यले अनुभव र कामका आधारमा मत माग्ने स्पष्ट धारणा राख्दै आएका छन्। घरदैलो अभियान, जनसंवाद, छलफल तथा विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले विगतमा गरेका काम र आगामी योजनाबारे मतदातालाई प्रत्यक्ष जानकारी गराइरहेका छन्।

उनका अनुसार राजनीतिक स्थायित्व बिना विकास सम्भव नहुने भएकाले स्थिर सरकार र बलियो नेतृत्व आजको आवश्यकता हो। स्थानीय तहमा काम गरेर देखाएको अनुभव, संघीय संसदमा पाल्पाका मुद्दा उठाएको इतिहास र सरल, पहुँचयोग्य तथा इमानदार छविका कारण पाल्पा–१ मा नारायणप्रसाद आचार्यलाई एमालेका सबैभन्दा बलिया र भरोसायोग्य उम्मेदवारका रूपमा हेरिएको छ।

चुनावी माहोल तातिँदै जाँदा उनीप्रति जनसमर्थन थप सुदृढ बन्दै गएको राजनीतिक वृत्तको विश्लेषण छ।