तनहुँ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तनहुँ क्षेत्र नं. १ का उम्मेदवार बिध्यानाथ ढकालको विजय सुनिश्चित गर्ने उद्देश्यले भानु नगरपालिका स्तरीय ७ सय ५१ सदस्यीय विशाल प्रचार समिति गठन गरिएको छ।

सिताराम अधिकारीको अध्यक्षतामा गठन गरिएको उक्त प्रचार समितिले भानु नगरपालिका भित्र घरदैलो अभियान, जनसम्पर्क, सभा–सम्मेलन तथा संगठन सुदृढीकरणमार्फत निर्वाचन प्रचार–प्रसारलाई व्यवस्थित, सशक्त र प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।

प्रचार समिति गठन कार्यक्रममा पार्टीका नेता हरीबहादुर चुमान, प्रतिनिधि सभा सदस्य उम्मेदवार बिध्यानाथ ढकाल, नेतृ गीत शाही, ओमकुमारी पौडेललगायतले मन्तव्य राख्दै जनताको पक्षमा निरन्तर संघर्षरत ढकाललाई विजयी गराउन तारा चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरे।

वक्ताहरूले बिध्यानाथ ढकाललाई इमानदार, जुझारु र जनसम्पर्कमा अब्बल नेताका रूपमा प्रस्तुत गर्दै आगामी निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीको जित सुनिश्चित हुने दाबी गरे।

नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका बिध्यानाथ ढकाल तनहुँ क्षेत्र नं. १ मा लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका अनुभवी नेता हुन्।