तनहुँ, भानु ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भानु नगर कार्यसमितिले आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउँदै मतदाताहरूलाई सचेत, स्वतन्त्र र विवेकपूर्ण मतदान गर्न आग्रह गरेको छ।

नगर कार्यसमितिका अध्यक्ष अमृत कुमार श्रेष्ठले एक अपील जारी गर्दै कुनै पनि किसिमको प्रलोभन, दबाब वा डर–धम्कीमा नपरी ‘देश जिताउने’ अभियानमा सहभागी हुन मतदाताहरूलाई आह्वान गर्नुभएको हो। उहाँले व्यक्ति विशेषलाई होइन, राष्ट्र र भविष्यलाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गर्नुभयो।

“कसैको करकाप, लोभलालच, डर–धम्की वा भिडको पछाडि नलाग्नुहोस्,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यो व्यक्ति जिताउने होइन, देश जिताउने महत्वपूर्ण अवसर हो। आफ्नो स्वविवेक प्रयोग गरेर मतदान गर्नुहोस्।”

राप्रपाले यस निर्वाचनमा अघि सारेका प्रमुख चुनावी एजेन्डाहरू यस प्रकार रहेका छन्—

  • शिक्षा र स्वास्थ्य: पूर्ण रूपमा निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको सुनिश्चितता
  • खानेपानी: प्रतिघर १० हजार लिटरसम्म निःशुल्क खानेपानीको व्यवस्था
  • कृषि र बजार: किसानका समस्या समाधानका लागि ठोस योजना र व्यवस्थित बजार व्यवस्थापन
  • रोजगारी: युवाहरूलाई स्वदेशमै रोजगारीमा आबद्ध गराउने विशेष कार्यक्रम
  • खेलकुद: फुटबललाई प्राथमिकतामा राख्दै जिल्ला, क्षेत्र र नगरस्तरीय खेलमैदान निर्माण तथा वडास्तरमा फुटसलको व्यवस्था
  • पहिचान: धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षण

राप्रपाका अनुसार भानु नगरपालिका सहित समग्र क्षेत्रको विकास र समृद्धिका लागि युवा नेता अभिषेक जोशी स्पष्ट योजना र प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रनुभएको छ। नगर अध्यक्ष श्रेष्ठले ‘हलो’ चुनाव चिन्हमा मतदान गरी जोशीलाई विजयी गराउन आम मतदाताहरूसँग विनम्र अपील गर्नुभएको छ।

स्थानीय तहमा सुशासन, विकास र राष्ट्रिय मौलिक पहिचानको संरक्षणसहित एक नमूना विकास मोडेल स्थापना गर्न राप्रपा प्रतिबद्ध रहेको सन्देश यस अपीलमार्फत दिइएको छ।