दमौली।
नेपाली कांग्रेस भानु नगर कार्यसमितिको विस्तारित बैठक सम्पन्न भएको छ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराउन पार्टीका नेता तथा कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो। यसपटक भट्टराईको पक्षमा चुनावी माहोल सकारात्मक बन्दै गएकाले निर्वाचन जित्न सहज हुने नेता–कार्यकर्ताको धारणा थियो।
विस्तारित बैठकलाई सम्बोधन गर्दै उम्मेदवार भट्टराईले क्षेत्र नं. १ का नागरिकहरूले उठाएका मुद्दालाई सम्बोधन गर्ने उद्देश्यका साथ आफू निर्वाचनमा होमिएको बताए। आफू पदमा नरहेकै अवस्थामा पनि क्षेत्रवासीको पक्षमा निरन्तर काम गर्दै आएको र निर्वाचित भएपछि अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
बैठकमा नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, संविधान सभा सदस्य रामचन्द्र पोखरेललगायत नेताहरूले धारणा राखेका थिए। बैठक नगर कार्यसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
यसैबीच, सोमबार नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिको पनि विस्तारित बैठक सम्पन्न भएको छ। उक्त बैठकले बन्दीपुरबाट समेत भट्टराईको पक्षमा मत खसाल्नुपर्नेमा जोड दिएको छ।











