दमौली।
नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नं. १ का उम्मेदवार गोविन्दभट्टराईले तनहुँको विकासमा कांग्रेसको भूमिका अग्रणी रहेको बताएका छन्।
नेपाली कांग्रेस व्यास नगर कार्य समितिको विस्तारित बैठकमा बोल्दै भट्टराईले तनहुँमा भएका अधिकांश विकास–निर्माणका कार्य कांग्रेसको नेतृत्वमा सम्पन्न भएको दाबी गरे। उनले कांग्रेसले गरेका विकासका कामलाई जनतामाझ प्रभावकारी रूपमा लैजान नेता तथा कार्यकर्तालाई आग्रह गरे।
अघिल्लो निर्वाचनमा पराजित भए पनि जिल्लावासीको हितका लागि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै भट्टराईले यसपटक विजयी भए अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाए।
बैठकमा नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले उपनिर्वाचनलाई मध्यनजर गर्दै यसपटक चुनावी नतिजा सुधार गरी विजय हासिल गर्नुपर्नेमा जोड दिए। बैठकमा चुनावी प्रचार–प्रसार कार्यक्रमबारे समेत छलफल भएको थियो।
नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेको अध्यक्षतामा सम्पन्न बैठकसँगै शनिबार भट्राईको चुनावी प्रचार–प्रसार कार्यालयको उद्घाटन गरिएको छ।










