दमौली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर समितिको एकता सन्देश बैठक तथा उम्मेदवार परिचय कार्यक्रम आज दमौलीमा सम्पन्न भएको छ।
बैठकले क. गोपाल सुर्खालीलाई संयोजक र क. गजेन्द्र राज पन्थलाई सह–संयोजक रहने गरी एकता प्रक्रियाअन्तर्गत सबै घटकहरूको समायोजन सम्पन्न गरेको जनाएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत तनहुँ–१ मा पार्टीकी उम्मेदवार बिद्या ढकाललाई विजयी गराउने उद्देश्यले प्रदेश समिति सदस्य रामचन्द्र सापकोटाको नेतृत्वमा ५०१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको छ। साथै केहर सिंह आलेको नेतृत्वमा वाईसीएल युवा तथा नवयुवा परिचालन समिति गठन गरिएको छ।
कार्यक्रमसँगै व्यास नगरका १४ वटै वडामा बैठकका कार्यतालिका सार्वजनिक गर्दै पार्टीपंक्ति, समर्थक तथा शुभेच्छुकहरूको सहभागितामा निर्वाचन अभियानको सुरुआत गरिएको छ।
बैठकलाई पार्टीका नेताहरू हरि व चुमान, शिवलाल थापा, आशा कोइराला लगायतले सम्बोधन गर्दै आगामी निर्वाचनमा नेकपाको जित सुनिश्चित गर्न सबै शक्ति परिचालन गर्नुपर्नेमा जोड दिएका थिए।
नेकपाले व्यास नगरमा पार्टीप्रति जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको दाबी गर्दै तनहुँ–१ मा उम्मेदवार बिद्या ढकाललाई स्पष्ट बहुमतका साथ विजयी गराउने अपेक्षा व्यक्त गरेको छ।











