निर्वाचन केवल उम्मेदवार छान्ने प्रक्रिया मात्र होइन, यो भोलिको दिशा तय गर्ने ऐतिहासिक निर्णय पनि हो। तनहुँ क्षेत्र नं. १ मा फागुन २१ गते हुने निर्वाचन त्यही अर्थमा विशेष महत्वको छ। यस क्षेत्रका मतदाताले यसपटक व्यक्ति, विचार र प्रतिबद्धताको गहिरो मूल्याङ्कन गर्दै मत प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको छ।
यही सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे तारा चिन्हका उम्मेदवार विद्यानाथ ढकाल एक फरक, स्पष्ट र भरोसायोग्य विकल्पका रूपमा देखिन्छन्। भानु नगरपालिका–४ का स्थायी बासिन्दा ढकाल दशकौँदेखि भ्रष्टाचार, बेथिति र विकृतिविरुद्ध सुशासनको पक्षमा निरन्तर आवाज उठाउँदै आएका अग्रणी राजनीतिक तथा सामाजिक व्यक्तित्व हुन्। सत्ता र सुविधाभन्दा सिद्धान्त र जनताको साथ रोज्ने उनको जीवनशैलीले नै उनलाई अरूभन्दा अलग बनाएको छ।
सादा जीवन, उच्च विचार र कठोर संघर्ष उनको जीवनदर्शन मात्र होइन, व्यवहारमा उतारिएको अभ्यास पनि हो। शहरको सुख–सुविधाभन्दा गाउँघरमै बसेर जनताका सुख–दुःखमा साथ दिने उनको निरन्तरताले जनविश्वास बलियो बनाएको छ। माध्यमिक विद्यालयको प्रधानाध्यापकको अनुभवसहित एक शिक्षाविद् तथा बौद्धिक व्यक्तित्वका रूपमा उनले शिक्षा र चेतनालाई समाज रूपान्तरणको मुख्य आधार मानेका छन्।
विकासका नाममा हुने हतारो, स्वार्थ र आलेटाले प्रवृत्तिविरुद्ध उनी सधैँ सचेत देखिएका छन्। मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा प्रस्तावित ‘स्मार्ट सिटी’, छिम्केश्वरी क्षेत्रमा राष्ट्रिय निकुञ्ज, मिर्लुङकोटमा खुला चिडियाखाना तथा घुमाउने पुल निर्माण जस्ता विषयमा राज्यलाई प्रश्न गर्दै उनले दीर्घकालीन सोच र वातावरणीय सन्तुलनको पक्षमा आवाज उठाउँदै आएका छन्। यो दृष्टिकोण आजको राजनीतिमा दुर्लभ मानिन्छ।
त्यसैगरी, चोक, मिर्लुङ, क्यामिन, छिम्केश्वरी जस्ता उच्च भूभागमा चिया, कफी र अलैंची खेतीको सम्भावनाबारे सम्बन्धित निकायलाई सचेत गराउँदै आएको उनको प्रयासले स्थानीय अर्थतन्त्र र रोजगारी सिर्जनामा दूरगामी सोच देखाउँछ। इतिहास र पहिचानप्रति उनको चासो पनि उत्तिकै उल्लेखनीय छ। तनहुँसुर, छिम्केश्वरी, देवघाट, मिर्लुङकोट, बन्दिपुर लगायत ऐतिहासिक कोट, गढी र पुरातात्त्विक सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षणका लागि उनी निरन्तर अभियन्ताका रूपमा सक्रिय छन्।
साहित्य, श्रम र समाजप्रतिको सम्मान उनको अर्को परिचय हो। ‘आमा’ लघुकथा सङ्ग्रहलगायत थुप्रै कृतिका सर्जक ढकाल जनपक्षीय साहित्यमार्फत समाजलाई सचेत बनाउने प्रयासमा छन्। श्रमप्रतिको सम्मानका साथ स्वयं उत्पादनमा संलग्न हुनु उनको व्यवहारिक उदाहरण हो।
समग्रमा हेर्दा, तनहुँ क्षेत्र नं. १ मा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली र पर्यटन जस्ता आधारभूत क्षेत्रको दिगो विकासका लागि स्पष्ट दृष्टि, अनुभव र प्रतिबद्धता बोकेको व्यक्तित्वका रूपमा विद्यानाथ ढकाल देखिन्छन्।
यसर्थ, परिवर्तन नारामा होइन, आचरण र कर्ममा खोज्ने मतदाताका लागि यसपटक तारा चिन्ह केवल एउटा चुनावी प्रतीक होइन, सुशासन, इमान्दारिता र दीर्घकालीन समृद्धिप्रतिको आशाको प्रतीक बनेको छ। यही कारणले तनहुँ क्षेत्र नं. १ मा तारा चिन्हमा मतदान गर्नु आजको आवश्यकता हो।











