तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अभिषेक जोशीले आगामी निर्वाचनमा मतदाताहरूलाई उम्मेदवारको बाहिरी भेषभूषा र आवरणभन्दा पनि वास्तविक एजेन्डा, नियत र विगतका कार्यको आधारमा मतदान गर्न आग्रह गरेका छन् ।

पछिल्लो समय निर्वाचन नजिकिँदै जाँदा केही नेताहरूले मतदातालाई भ्रममा पार्ने उद्देश्यले छद्म भेष अपनाउने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै जोशीले यस्तो प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने बताए ।

उनले धर्मनिरपेक्षताको एजेन्डा बोकेका कतिपय नेताहरू चुनावी मौसममा गेरु वस्त्र धारण गर्ने, निधारमा ठूलो टीका लगाउने र मन्दिर–मन्दिर धाउने व्यवहार देखाउने गरेको उल्लेख गरेका छन् । यस्तो व्यवहार मतदाताको भावना प्रयोग गर्ने रणनीति मात्र भएको जाेशीकाे भनाइ छ।

भ्रमित पार्ने आवरणप्रति चेतावनी:-
जोशीका अनुसार केही नेताहरू आफूलाई हिन्दूवादी देखाउन धार्मिक पहिचान र प्रतीकको प्रयोग गर्छन्। यसरी देखावटी धार्मिक आवरण अपनाउँदा मतदाताले सजिलै विश्वास गर्छन् र पार्टीको वास्तविक विधान, नीति र नेताको निजी नियतमाथि प्रश्न उठाउँदैनन् भन्ने उनीहरूको सोच हुन्छ,उनले भने ।

नियत र कार्यको मूल्यांकन आवश्यक:-
गेरु वस्त्र लगाएर मात्र हुँदैन, नेतामा हिन्दू धर्म र संस्कृतिको संरक्षण गर्ने आत्मविश्वास, इमानदारी र प्रतिबद्धता हुनुपर्छ, जोशीले स्पष्ट पारे । उनले वीरगन्जजस्ता संवेदनशील घटनामा मौन बस्ने तर चुनावका बेला धार्मिक आवरणमा देखिने नेताहरूको नियतमाथि गम्भीर प्रश्न उठाउनुपर्ने धारणा राखेका छन् ।

मतदाताको जिम्मेवारी स्मरण:-
जोशीले मतदाताहरूलाई उम्मेदवारको मेकअप र बाहिरी प्रदर्शनमा अल्झिनु नहुने भन्दै सचेत गराए। हामी लुगा र आवरणमा अल्झिरहेका छौँ। उम्मेदवारले विगतमा के गर्‍यो, उसले बोलेको र गरेकोबीच कति मेल छ, र उसको पार्टीको वास्तविक एजेन्डा के हो भन्ने कुरा हेर्नु आजको आवश्यकता हो, उनले जाेड दिए ।

हिन्दू राष्ट्रबारे फैलिएको भ्रम:-
हिन्दू राष्ट्रको अवधारणाबारे बोल्दै जोशीले यसलाई अन्य धर्म मान्नेहरूलाई लखेट्ने एजेन्डाका रूपमा चित्रण गर्नु गलत भएको बताए । यस्तो धारणा युरोपेली मानसिकताबाट प्रेरित भ्रम मात्र भएको जाेशीकाे दाबी छ।
अन्त्यमा जोशीले मतदाताहरूलाई भावनात्मक र क्षणिक चुनावी स्टन्टभन्दा माथि उठेर दीर्घकालीन राष्ट्रिय हित, इमानदारी र स्पष्ट एजेन्डाका आधारमा मतदान गर्न आग्रह गरेका छन् ।