तनहुँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक संख्यामा निर्वाचन प्रहरी नपुगेपछि तनहुँमा तेस्रोपटक भर्ना प्रक्रिया सुरु गरिएको छ।
नेपाल प्रहरी अन्तर्गत तनहुँमा १५७२ जना निर्वाचन प्रहरी आवश्यक परेपनि यसअघि दुईपटक खुलाइएको भर्नाबाट सो संख्या पूरा हुन सकेको थिएन। अघिल्ला दुई चरणमा आवेदन दिएका १२३६ जना मध्ये १२१६ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका थिए।
शुक्रबार सम्पन्न लिखित परीक्षामा १२१६ जना उत्तीर्ण भएपछि बाँकी ३६५ जना का लागि तेस्रोपटक भर्ना खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। कार्यालयले शुक्रबार सूचना प्रकाशन गर्दै माघ १० गते शनिबार र ११ गते आइतबार दुई दिन थप आवेदन दिन सकिने जानकारी दिएको हो।
सूचना अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँका साथै सशस्त्र प्रहरी गण भानु, इलाका प्रहरी कार्यालय आबुँखैरेनी, बन्दीपुर, भानु (नारेश्वरटार) र खैरेनी बेलचौताराबाट पनि आवेदन दिन सकिनेछ। यसअघि आवेदन दिएर शुक्रबारको लिखित परीक्षामा सहभागी हुन नसकेकाले भने माघ १२ गते बिहान हुने परीक्षामा सहभागी हुन पाउने छन्।
निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै साधारण लेखपढ गर्न जान्ने, कुनै राजनीतिक दलमा आबद्ध नभएको, कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको तथा कुनै आतंकवादी वा विध्वंसात्मक संगठनको सदस्य नभएको हुनुपर्ने योग्यता तोकिएको छ।
निर्वाचन प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ। सो अवधिको सेवा गरेवापत ४० दिनको एकमुष्ठ रु. ३४ हजार ७७६ पारिश्रमिकका साथै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पाउने सरह खाद्यान्न भत्ता उपलब्ध गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।










