आबुँखैरेनी । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारिघाटमा मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आँबुखैरेनीतर्फ जाँदै गरेको बा १ प ०३–००९ क ०२६८ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ठक्करबाट थापाको टाउकोमा गम्भीर चोट लागेको थियो। दुर्घटनापछि ट्रक चालक मकवानपुर, सरिखेत पालुङ गाउँपालिका–१ निवासी २१ वर्षीय बाबुलाल लोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।










