भानु ।
तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेकी तर्फबाट उम्मेदवार भगवती न्यौपानेले आफ्नो जन्मगाउँ भानु नगरपालिका–७ र ८ बाट घरदैलो अभियान सुरु गरेकी छन्।
घरदैलो अभियानअन्तर्गत न्यौपानेले क्षेत्रका प्रत्येक घर–घरमा पुगेर आफ्ना योजना, भिजन तथा स्थानीय विकाससम्बन्धी कार्यक्रमबारे मतदातालाई प्रत्यक्ष जानकारी गराइरहेकी छन्। उनको आगमनमा स्थानीयवासीहरूले उत्साहपूर्वक स्वागत गरेका थिए। गाउँलेहरूले उनीप्रति विश्वास र आत्मीयताको परिचय दिएका छन्।
जन्मथलोमा यस प्रकारको न्यानो स्वागत पाउँदा आफू अत्यन्तै उत्साहित भएको न्यौपानेले बताइन्। न्यौपानेले भनिन्, “मेरो जीवन सधैं देश र जनताको सेवा तथा समर्पणमा केन्द्रित रहँदै आएको छ। जनताको विश्वास र समर्थन नै मेरो सबैभन्दा ठूलो शक्ति हो।
यही शक्तिका आधारमा म हरेक नागरिकका आवश्यकता र समस्या बुझेर समाधानका लागि काम गर्न सक्षम हुनेछु।” घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले न्यौपानेको सादगी, इमानदारी र जनसेवामा समर्पित व्यक्तित्वको प्रशंसा गर्दै आगामी निर्वाचनमा पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस अभियानमार्फत भगवती न्यौपानेले मतदातासँग नजिकको सम्बन्ध स्थापित गर्दै जनभावनाको वास्तविक प्रतिनिधित्व गर्ने प्रयासलाई थप सशक्त बनाइरहेकी छन्।
यसैबीच, नेकपा एमालेका समर्थकहरूले पनि सबै मतदातालाई सक्रिय रूपमा सहभागी भई भगवती न्यौपानेको उम्मेदवारीलाई बलियो बनाउन आग्रह गरेका छन्










