तनहुँ ।
तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम नामावलीमा रहेका १६ जना उम्मेदवारलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ। निर्वाचन अधिकृतको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उम्मेदवार तथा उनीहरूलाई प्रदान गरिएको निर्वाचन चिन्ह सार्वजनिक गरेको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ बमोजिम मतदान प्रयोजनका लागि उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन चिन्ह वितरणसँगै तनहुँ–१ मा औपचारिक रूपमा चुनावी प्रतिस्पर्धा सुरु भएको छ।
यस निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले)बाट भगवती न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले चुनावी मैदानमा छन्। यसैगरी नेकपा (माओवादी केन्द्र)बाट ओम बिक्रम पन्त, स्वतन्त्र उम्मेदवार दीपकराज जोशी (चुनाव चिन्ह–कैँची) सहित अन्य उम्मेदवारहरू पनि प्रतिस्पर्धामा उत्रिएका छन्।
श्रम संस्कृति पार्टी, आम जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, उज्यालो नेपाल पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल रिपब्लिक नेपाललगायत दलका उम्मेदवारहरू समेत चुनावी दौडमा छन्। यस निर्वाचन क्षेत्रमा तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन्। निर्वाचन चिन्ह सार्वजनिक भएसँगै उम्मेदवारहरू मतदाता केन्द्रित चुनावी अभियानमा सक्रिय हुने देखिएको छ।
स्थानीय विकास, रोजगारी, सुशासन र राजनीतिक स्थायित्व यस निर्वाचनका मुख्य एजेण्डा बन्ने अनुमान गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन प्रक्रिया मर्यादित, शान्तिपूर्ण र कानुनसम्मत ढंगले सम्पन्न गर्न सबै मतदाता, उम्मेदवार तथा सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।












