तनहुँ । बन्दीपुर गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा बन्दीपुर गाउँपालिका स्तरीय अन्तरवडा चौथो अध्यक्ष कप भलिबल तथा फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार प्रतियोगिता आगामी माघ २३ गतेदेखि २५ गतेसम्म बन्दीपुर गाउँपालिकाको खेल मैदान (भुमर्से) मा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन माघ २३ गते दिउँसो १२:३० बजे गरिनेछ।
प्रतियोगितामा पुरुषतर्फ भलिबल र फुटबल समावेश गरिएका छन्। प्रत्येक वडाबाट भलिबल र फुटबलतर्फ २/२ टिम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। सहभागी हुन इच्छुक वडाले आवश्यक कागजातसहित माघ १२ गतेभित्र सम्बन्धित वडा कार्यालयमार्फत गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा टिम प्रमाणीकरण गराउनुपर्नेछ। खेल तालिका भने माघ १४ गते सार्वजनिक गरिनेछ।
सहभागी खेलाडीहरू सम्बन्धित वडाका स्थायी बासिन्दा हुनुपर्नेछ भने नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ। भलिबलतर्फ सेमिफाइनलसम्म ३ सेट र फाइनलमा ५ सेट खेलाइनेछ भने फुटबल ७ ए साइड प्रणालीमा सञ्चालन हुनेछ।
कुनै खेलमा विरोध (प्रोटेस्ट) गर्नुपर्ने भए खेल सकिएको ३० मिनेटभित्र प्रति खेलाडी ३,००० रुपैयाँका दरले उजुरी शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः रु. ६२,५००, रु. ३१,२५० र रु. १२,५०० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विधागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई समेत नगद वा ट्रफी प्रदान गरिनेछ।











