तनहुँ ।

नेकपा (एमाले) भानु नगर कमिटी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीकी उम्मेदवार भगवती न्यौपानेलाई विजयी गराउने उद्देश्यसहित सक्रिय रूपमा घरदैलो अभियानमा जुट्ने भएको छ।

भानु नगर कमिटीको बिहीबार बिहान बसेको बैठकले उम्मेदवार न्यौपानेलाई जिताउन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध रूपमा परिचालन गर्ने निर्णय गरेको हो। बैठकले भानु नगरपालिकाका सबै वडामा घरदैलो कार्यक्रम सञ्चालन गरी सूर्य चिन्हमा बढीभन्दा बढी मत खसाल्ने रणनीति तय गरेको छ।

बैठकपछि जानकारी दिँदै नेकपा एमाले भानु नगर कमिटीका अध्यक्ष शंकर रानाभाटले उम्मेदवार न्यौपाने भानु नगरपालिकाकै स्थायी बासिन्दा भएको उल्लेख गर्दै आफ्नै ठाउँको विकासका लागि आफ्नै ठाउँको उम्मेदवार आवश्यक पर्ने सन्देश आम भानुबासीसमक्ष पुर्‍याइने बताए। उनले न्यौपानेलाई जिताउन घरदैलो, टोलभेला तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिइने जानकारी दिए।

अध्यक्ष रानाभाटका अनुसार उम्मेदवार न्यौपानेले विगतमा राष्ट्रियसभा सदस्य रहँदा तनहुँ जिल्लामा विकास निर्माणका क्षेत्रमा पुर्‍याएको योगदान, उहाँको पहलमा आएका योजनाहरू तथा पछिल्लो समय मन्त्रीका रूपमा गरेका कामबारे आम जनतालाई जानकारी गराइनेछ।

बैठकमा उम्मेदवार भगवती न्यौपानेले यो निर्वाचन राष्ट्रियता र स्वाधीनता जोगाउने निर्णायक लडाइँ भएको बताउँदै एमाले कार्यकर्ताहरूले आम जनताको घरदैलोमा पुगेर राष्ट्रहितका विषयमा स्पष्ट धारणा राख्नुपर्ने बताइन्। देशलाई विखण्डनतर्फ लैजान खोज्ने र विदेशी शक्तिको प्रभाव बढाउन चाहने तत्वलाई परास्त गर्नुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रममा नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार प्रतापलाल श्रेष्ठ, गण्डकी प्रदेश कमिटी सदस्य प्रेम राना, प्रदेश कमिटीका पूर्व सल्लाहकार कृष्णराज ढकाललगायत नेताहरूले तनहुँ क्षेत्र नं. १ मा एमाले उम्मेदवारलाई विजयी गराउन पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।