सुवास लामिछाने
चितवन । भरतपुर महानगरपालिका–२५ का वडाअध्यक्ष छविलाल सापकोटाले स्थानीय तहमा उत्तरदायी, पारदर्शी र विकासमुखी नेतृत्वको उदाहरण प्रस्तुत गर्दै आएका छन्।
कार्यकाल सम्हालेदेखि नै उनले वडाबासीका आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राख्दै योजनाबद्ध र सहभागितामूलक ढंगले काम अघि बढाइरहेका छन्। वडाभित्र सडक स्तरोन्नति, खानेपानी, ढल व्यवस्थापन, विद्युत् विस्तारलगायत आधारभूत पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको स्थानीयवासी बताउँछन्।
विशेष गरी ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने योजना, वर्षायाममा हुने समस्या न्यूनीकरणका लागि नाली निर्माण तथा मर्मत कार्यले जनजीवन सहज बनेको छ। अध्यक्ष सापकोटाको नेतृत्वमा वडा कार्यालयलाई सेवामैत्री र नागरिकमैत्री बनाउने प्रयास प्रभावकारी देखिएको छ। सेवा प्रवाहलाई छिटो, सरल र पारदर्शी बनाउन डिजिटल अभिलेख प्रणाली, समयमै सिफारिस तथा कागजात वितरणमा विशेष जोड दिइएको छ, जसका कारण वडाबासीको समय र झन्झट दुवै घटेको छ। यस वडाको अर्को महत्वपूर्ण विशेषता भनेको संस्थागत र सामुदायिक समन्वयसहितको नियमित अभ्यास हो। वडाभित्रका टोल विकास संस्थाका अध्यक्षहरूसँग मासिक रूपमा नियमित बैठक सञ्चालन हुँदै आएको छ।
ती बैठकमार्फत टोलस्तरका समस्या पहिचान, योजना छनोट तथा समाधानका उपाय तय गरिँदै आएको छ। साथै, टोल विकास संस्थाका पदाधिकारीहरूलाई लक्षित गरी क्षमता अभिवृद्धिका तालिमहरू पनि निरन्तर प्रदान गरिँदै आएको छ। युवामैत्री कार्यक्रमतर्फ पनि वडाले विशेष ध्यान दिएको छ। हाल वडाअध्यक्ष सापकोटाको पहलमा १३ वर्षभन्दा माथि र १६ वर्षभन्दा मुनिका किशोर–किशोरीहरूलाई लक्षित गरी इलेक्ट्रिसिटी (विद्युत्) सम्बन्धी सीपमूलक तालिम सञ्चालन भइरहेको छ, जसलाई अत्यन्त प्रभावकारी र व्यवहारिक कार्यक्रमका रूपमा लिइएको छ। शिक्षा क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउन वडाभित्र रहेका पाँचवटा माध्यमिक विद्यालय, दुईवटा आधारभूत विद्यालय तथा एक मन्टेस्वरी विद्यालयका प्राचार्यहरूसँग शिक्षा समितिको नियमित मासिक बैठक हुँदै आएको छ।
ती बैठकबाट निस्किएका निष्कर्षका आधारमा शैक्षिक सुधारका कार्यक्रम अघि बढाइँदै आएको वडाले जनाएको छ। सामाजिक क्षेत्रमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा विपन्न वर्गलाई लक्षित कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भएका छन्। स्वास्थ्य र शिक्षा क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै दीर्घकालीन सोचसहित लगानी बढाउने प्रयास पनि जारी छ। युवा तथा महिलाको सहभागिता बढाउन सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र सामुदायिक अभियानहरूमा समेत वडाअध्यक्ष सापकोटाले विशेष ध्यान दिँदै आएका छन्। सामाजिक सद्भाव, सहकार्य र सहभागितामूलक विकास उनको कार्यशैलीको मुख्य पहिचान बनेको छ।










