तनहुँ।
भानु नगरपालिका–९ स्थित श्री कर्मदा माध्यमिक विद्यालय, बाइसजङ्घारको ४१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सभ्य, भव्य तथा सहभागितामूलक रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धमनियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा नगर उपसचिव तथा शिक्षा अधिकारी ध्रुवराज पौडेल, सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती तथा वडा नं. ९ का वडाध्यक्ष मिनबहादुर गुरुङ विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो।
विद्यार्थीहरूको आकर्षक पीटी प्रदर्शन तथा स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार विकले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक हृदय भट्टले गर्नुभएको थियो भने शिक्षक कृष्णप्रसाद पहारीले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।
डुम्रे–बेँसीसहर राजमार्गमा अवस्थित कर्मदा मावि भानु नगरपालिकाको पूर्वी क्षेत्रकै उदीयमान विद्यालयका रूपमा परिचित हुँदै आएको छ। कक्षा ० देखि १० सम्म सञ्चालन भइरहेको विद्यालयमा हाल ३५५ जना विद्यार्थी अध्ययनरत छन् भने २१ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।
विद्यालयको भौतिक पूर्वाधार निरन्तर विस्तार हुँदै आएको छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको सहयोगमा ६० लाख रुपैयाँको लागतमा चार कोठे पक्की भवन निर्माण कार्य भइरहेको छ। साथै विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय, आईसीटी तथा STEM ल्याब, फर्निचरलगायत आधुनिक शैक्षिक सामग्री क्रमशः उपलब्ध हुँदै गएका छन्।
कक्षा १० का विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (SEE) को सघन तयारीका लागि होस्टेलमा बसेर अध्ययन गरिरहेका छन्। आधारभूत तह (कक्षा ८) तथा SEE सहित अन्य कक्षाहरूको शैक्षिक उपलब्धि सन्तोषजनक रहेको विद्यालयले जनाएको छ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले प्रस्तुत गरेको वक्तृत्वकला, सन्देशमूलक नाटक, विविध सांस्कृतिक कार्यक्रम तथा ३० जना विद्यार्थी कलाकारद्वारा प्रस्तुत सामूहिक कौरा नृत्यले उपस्थित दर्शकको मन जितेको थियो। पञ्चेबाजा, तरकारी खेतीजस्ता ‘पढ्दै–कमाउँदै’ कार्यक्रम तथा अतिरिक्त क्रियाकलापमा समेत विद्यालय अग्रणी रहँदै आएको छ।
कार्यक्रममा सहभागी अभिभावक तथा अतिथिहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए। ती सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयको शैक्षिक उन्नयनमा भानु नगरपालिका तथा स्थानीय वडाबाट निरन्तर सहयोग हुँदै आएको जनाउँदै विद्यालय परिवारले सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रम समापन गरेको थियो।










