तनहुँ — तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (एमाले) की प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती न्यौपानेले भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिरबाट आफ्नो चुनावी अभियान सुरु गरेकी छन्।

बुधबार थानीमाईको दर्शन गर्दै अभियान सुरु गरेकी न्यौपानेले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन्। राष्ट्रिय सभा सदस्य रहँदा आफ्नो पहलमा चालु आर्थिक वर्षमा थानीमाई मन्दिर जाने सडक स्तरोन्नतिका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन भएको उनले बताइन्।

वर्षौंअघि निर्माण भएको उक्त सडक हालसम्म स्तरोन्नति नभएको अवस्थामा कालोपत्रे गर्न बजेट व्यवस्था गरिएको उनको भनाइ छ। ‘थानीमाई तनहुँको धार्मिक आस्थाको प्रतीक र महत्वपूर्ण पर्यटकीय गन्तव्य हो,’ उनले भनिन्, ‘यस क्षेत्रको विकास गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक पूर्वाधार निर्माणमा निरन्तर लाग्नेछु।’