तनहुँ ।
नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भगवती न्यौपानेले आफ्नो सम्पूर्ण जीवन देश र जनताको सेवामा समर्पण गरेको बताएकी छन्।
प्रेस चौतारी नेपाल तनहुँले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै न्यौपानेले व्यक्तिगत स्वार्थ, पद वा लाभका लागि कहिल्यै राजनीति नगरेको स्पष्ट पारिन्। मैले आफ्नो व्यक्तिगत जीवनका लागि केही गरिनँ। जे जति गरेँ, देश र जनताकै लागि गरेँ, उनले दृढताका साथ भनिन्। पार्टीका विभिन्न तहमा रहेर जिल्लाको विकास र जनताको सुख–दुःखमा सधैं साथ दिँदै आएको उल्लेख गर्दै उनले आफ्नो जीवनको अधिकांश समय तनहुँकै माटोमा पसिना बगाएर बिताएको बताइन्।
आर्थिक प्रलोभन वा सुविधाले आफूलाई राजनीतिमा ल्याएको नभई राष्ट्रप्रतिको गहिरो प्रेम नै आफ्नो प्रेरणा भएको उनले प्रष्ट पारिन्। राष्ट्र र जीवनमध्ये एउटा रोज्नुपरे म अहिले पनि राष्ट्र नै रोज्छु। आवश्यक परे जीवन त्याग्न समेत तयार छु, भन्दै उनले भावुक अभिव्यक्ति दिइन्। राष्ट्रिय सभामा रहँदा नीति तथा कानुन निर्माणमा सक्रिय भूमिका खेलेको उल्लेख गर्दै न्यौपानेले देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा निरन्तर आवाज उठाउँदै आएको स्मरण गराइन्।
राष्ट्रिय सभामा निर्वाह गरेको जिम्मेवारी र कार्यसम्पादनलाई पार्टीले नजिकबाट मूल्यांकन गरेपछि नै प्रतिनिधिसभा उम्मेदवार बन्ने अवसर प्राप्त भएको उनको भनाइ थियो। वर्तमान अवस्थामा देशको स्वाधीनता, संविधान र राष्ट्रिय हितको रक्षा अझै चुनौतीपूर्ण बनेको उल्लेख गर्दै उनले मुलुकलाई संकटबाट जोगाउन चाहना मात्र होइन, आवश्यक अनुभव र क्षमता पनि आफूसँग रहेको दाबी गरिन्।
तनहुँको भूगोल, समाज र जनताको आवश्यकतासँग आफू गहिरोसँग परिचित रहेको बताउँदै न्यौपानेले जिल्लाको समग्र विकासका लागि प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरिन्। मन्त्री पदमा रहँदा कर्मचारी प्रशासन सुधारका क्षेत्रमा सुरु गरेका अधुरा कामलाई निरन्तरता दिनकै लागि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको उनले प्रष्ट पारिन्। तनहुँको विकास, जनताको अधिकार र देशको भविष्यका लागि म सधैं अग्रपंक्तिमा उभिन्छु, उनले भनिन्।











