Responsive Ad Slot

latest

गोर्खा–जितगढी पदयात्रा शुरु , तनहुँको सतिघाटमा भब्य स्वागत

Wednesday, April 10

/ by Admin BHOLA THAPA

 डिपि अधिकारी

भानु - नेपाली सेनाको गोर्खा–जितगढी पदयात्रा आजबाट शुरु भएको छ ।  ऐतिहासिक महत्व बोकेका स्थानको पर्यटन विकास गर्ने लक्ष्यका साथ नेपाली सेनाले गोरखा दरबारदेखि जीतगढीसम्म पदयात्रा सुरु गरेको हो । 

ऐतिहासिक पदमार्गको यात्रामा सहभागी नेपाली सेनाका टोलीलाई तनहुँमा भब्य स्वागत गरिएको छ ।

 मंगलबार तनहुँको भानु नगरपालिकाको सतिघाटमा आयोजित कार्यक्रममा गोर्खाको पालुङटार नगरपालिकाका मेयर बिवश चिन्तनले भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी र तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई नेपाली राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । 

झण्डा रुरु भैरब दल गणले पदयात्रा गरी मंगलबार गणमा मुकाम गरी बुधबार तनहुँसुर पुगेपछि कालिभञ्ज्याङ गणलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । 

    कार्यक्रममा भानु नगरपालिकाका मेयर त्रिपाठीले एकिकरण अभियानले राज्यको दिगो बिकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै राष्ट्रको हितका लागि एकताबद्ध हुन जरुरी रहेको औल्याए।

कार्यक्रममा नगरपालिकाकी उप–मेयर उमा गोतामे र प्रमुख जिल्ला अधिकारी गौतमले स्वागत मन्तब्य राखेका थिए।  कार्यक्रममा पालुङटार नगरपालिकाकी उप–मेयर बन्दना पाण्डे, गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बिकासराज खनाल, रुरु भैरब दल गणका गणपति प्रमुख सेनानी हिमाचलजङ शाह, कालिभञ्ज्याङ गणका गणपति प्रमुख सेनानी बसन्त कार्की, तनहुँका प्रहरी प्रमुख एसपी अपिलराज बोहरा, शसस्त्र प्रहरी बल मनकामना गणका गणपति रामकृष्ण अधिकारी, भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, जनप्रतिनिधिहरु लगाएत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । 

  तनहुँमा चैत २८, २९ र ३० गते यात्रा रहनेछ । बैशाख १, २, ३ र ४ गते टोली पाल्पा पुग्नेछ । ५ गते जीतगढी पुगेपछि यात्रा भब्यताका साथ समापन गर्ने कार्यक्रम सेनाले तय गरेको छ ।

यस अघि गोरखा दरबारमा औपचारिक कार्यक्रम गरी विदाइ गरिएको थियो ।

नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, गोरखा जिल्ला अदालतका न्यायधीश शिवबहादुर रानाभाट, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, रिपुमर्दन गणका गणपति अशोक क्षेत्री लगायतले सहभागी ४८ जनालाई नेपाली सेनाका स्थापना कालका पाँच कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरी विदाइ गरेका थिए । 

सो अवसरमा गोरखनाथ तथा गोरखकालीका पुजारी, गुरुकुलका पुरोहितहरुले मन्त्र बाचन गरेर र महिला समूहको पञ्चैबाजा, नेपाली सेनाको ब्याण्डबाजा समूहले बाजागाजासहित विदाइ गरेका थिए ।


नेपाली सेनाको आयोजना र स्थानीय तहहरुको सहयोगमा गोरखा–तनहुँ–पाल्पा हुँदै जीतगढीसम्मको आठदिने पदयात्रा गर्न लागेको हो ।


गतबर्षदेखि सुरु गरिएको यो पदयात्रा अहिले दोस्रो पटक भएको हो । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने, इतिहास जोगाउने क्रममा पदयात्रा गर्न लागेको पृतनापति पौडेलले जनाए । 



यात्रामा सहभागी हुने ४८ जना नेपाली सेनाको टोलीले गोरखादेखि जितगढीसम्मको दुईसय सात किलोमिटर दुरी पूरा गर्नेछन् ।


यात्रामा सहभागीलाई हरेक स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थितिमा बिदाई गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।


यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा स्थापना गरेका पाँच पल्टनका सेना सहभागी हुनेछन् । यसअघि पनि सेनाले पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारसम्म यात्रा गरेको थियो ।

Don't Miss
© all rights reserved
made with by netKUTI